सरकारले जारी गर्यो नेपालको प्रशासनिक र राजनीति नक्सा, सबै सर्वत्र यही प्रयोग हुने
भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक भएको छ । बुधबा। भूमि व्यवस्थमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गर्नुभएको हो ।
६ महिनाअघि भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई उसको भूमि भन्दै राजनीतिक नक्सा जारी गरेको थियो । अघिल्लो साता मात्रै लिपुलेकबाट भारतले मानसरोबार पुग्ने सडक बनाएपछि सरकारले चर्को बिरोध गर्दै सो क्षेत्र समेटिएको नक्सा जारी गरेको हो ।
स्मरणीय के छ भने अहिले चल्तीमा रहेको नक्सामा लिम्पियाधुरा क्षेत्र समेटिएको छैन । यसैलाई आधार मानेर भारतले ती क्षेत्र उसको भूमि भन्दैआएको छ । पुरानो नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लाको गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेको थियो । यी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।
मन्त्री अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गर्न पाउँदा आफूहरु गौरवान्वित र पुल्कित भएको बताउँदै नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण भएको बताउनुभयो ।
१८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भए पनि हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएकोउहाँले बताउनुभयो ।
नयाँ नक्सा जारी गर्ने सरकारको निर्णयलाई भारतीय संचारले नेपालले चीनको इशारामा दम्भ देखाएको आरोप लगाइरहेका बेला मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभएको छ ।
मन्त्री अर्यालले नक्सा सार्वजनिक अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुने बताउँदै आम प्रयोगकर्तालाई पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्