नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ ।
मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ ।
कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताउनुभयो ।
व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्ने उहाँको भनाइ थियो । “बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्दछ ।
यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन भने आफूलाई पायक पर्ने समयमा दर्शकले हेर्न पाउछन्”, उहाँले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएको बताउनुभयो ।
अष्ट्रेलियामा नियमित रूपमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले नियमित सोमा नै दर्शक हेर्न आउने क्रम बढेको बताउनुभयो । “हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन । अहिले विदेशी अन्य चलचित्र झैँ नेपाली चलचित्र पनि प्रदर्शन गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।
कुनै समय विदेशमा चलचित्र प्रदर्शन गर्न निकै सङ्घर्ष गर्नुपरेको निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँले बताउनुभयो । उहाँले रेस्टुराँ, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभव सुनाउनुभयो । उहाँले निर्माण गर्नुभएको ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । “खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम पनि उत्तिकै हुन्छ”, उहाँले भन्नुभयो ।
विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा मिलेको निर्माता बानियाँले बताउनुभयोे । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
यस वर्ष दसैँ र तिहारसम्म प्रदर्शन घोषणा भएका केही नेपाली चलचित्रले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सँगै प्रदर्शन घोषणा गरेका छन् । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा विस्तार भएमा नेपाली चलचित्रको सम्भावना बढ्दै जाने चलचित्रकर्मीको भनाइ छ ।
‘कबड्डी’ शृङ्खला, ‘जारी’ विदेशमा माग भएका चलचित्र हुन् । चलचित्र निर्माता मणिराम पोखरेलले चलचित्र भवनमै प्रदर्शन गराउन निर्माताले कडाइ गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो कम्पनीमार्फत निर्माण भएका चलचित्रलाई चलचित्र भवनमै प्रदर्शन गर्ने सर्त राखेर विदेशको प्रदर्शन अधिकार बिक्री गर्ने गरेको छु । दर्शकलाई गुणस्तरीय चलचित्र देखाउने हाम्रो चाहना हो ।”
प्रतिक्रिया राख्नुहोस्