गनगन गरेर नबसौं नेतागण हो, सुझबुझ पुर्याऔं
नयाँ सरकार बनाएर ओलीलाई विदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ २१ घण्टाभित्र नयाँ सरकार गठनको आधार प्रस्तुत गर्न सांसदहरुलाई आव्हान गरेपछि मुलुकको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट भएको सो आव्हान असंवैधानिक भएको भन्दै कडा टिप्पणी भैरहेको छ भने दल र सांसदहरुलाई नयाँ चुनौति पनि ।

यसबीचमा नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिबाट आव्हान भएको समयभित्रै नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न र एकपछि अर्को असंवैधानिक कदमलाई साथ दिने राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन सुझाव दिनुभएको छ ।
सामाजिक सन्जालमा नेता थापाले लेख्नुभएको छ- “विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री)ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप (राष्ट्रपति)लाई बिदा गरौं ।”
प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गनुभएको हो ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।
प्रतिक्रिया राख्नुहोस्