नक्कली भुटानी शरणार्थी प्रकरण : राज्य विरुद्धको अपराधमा समेत मुद्दा चल्नसक्ने
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा ३२ जना संलग्न रहेको निष्कर्षसहित नेपाल प्रहरीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन प्राप्त भएको बताउनुभयो । उहाँले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने जानकारी दिनुभयो ।
सह–न्यायाधिवक्ता न्यौपानेले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने पनि बताउनुभयो ।
उहाँले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने जानकारी दिनुभयो ।
सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने उहाँको भनाइ छ ।
उहाँले प्रहरी अनुसन्धानमा के देखियो, आधार प्रमाणहरू के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने र कस्तो अपराध हो । कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा भएको पनि बताउनुभयो ।
सह–न्यायाधिवक्ता न्यौपानेले अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले प्रतिवेदनको विश्लेषण गरी आधार प्रमाणहरू हेरी सोही आधारमा निर्णय गर्ने बताउनुभयो ।
न्यौपानेले पक्राउ पर्नेहरूलाई ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) र राज्य विरुद्धको अपराधमा समेत मुद्दा चलाउनसक्ने बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्