भ्रष्टाचार, अव्यवस्थापन र कूटनीतिक अवरोधले अलपत्र २२ अर्बको ‘ड्रिम प्रोजेक्ट’ पोखरा विमानस्थल
पर्यटन राजधानीका रूपमा चिनिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यको अर्बौं लगानीमाथि प्रश्न उठ्न थालेको छ ।
झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण गरिएको मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अहिले आन्तरिक उडानकै भरमा सञ्चालन खर्च धान्न बाध्य छ भने अन्तर्राष्ट्रिय उडान भने छिटपुट चार्टरमै सीमित बनेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ले २०७९ पुस १६ गते भव्य रूपमा उद्घाटन गर्नुभएको विमानस्थललाई सरकारले “गेम चेन्जर” परियोजनाका रूपमा प्रस्तुत गरेको थियो ।
तर उद्घाटनपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा विमानस्थल अहिले ‘पूर्वाधार बन्यो, सञ्चालन मोडल बनेन’ भन्ने आलोचनाको केन्द्रमा पुगेको छ ।
एक वर्षमै बन्द भयो पोखरा–ल्हासा उडान
विमानस्थलबाट २०८१ चैतमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु सङ्ख्या न्यून भएपछि सेवा टिक्न सकेन । एक वर्ष नपुग्दै उक्त उडान बन्द भएपछि अहिले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान पूर्णतः ठप्पजस्तै बनेको छ ।
हालसम्म चीन, भुटानलगायत केही देशमा छिटफुट चार्टर उडान भए पनि व्यावसायिक रूपमा निरन्तर सञ्चालन हुन सकेको छैन । गत मङ्गलबार मात्रै पहिलोपटक भारततर्फ मेडिकल चार्टर उडान गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ दर्शनका क्रममा बिरामी परेका भारतको मध्यप्रदेश, भोपालका शम्भु दयाल श्रीवास्तवलाई श्री एयरलाइन्समार्फत मेडिकल चार्टर उडान गरेर भारत पठाइएको हो । उहाँका अनुसार उक्त उडानले भविष्यमा भारतसँग नियमित उडान अनुमति लिन नेपाललाई कूटनीतिक रूपमा सहज बनाउन सक्ने अपेक्षा गरिएको छ ।
भारतसँग हवाई मार्ग नखुल्दा मुख्य समस्या
पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्नुको प्रमुख कारणमध्ये भारतसँग प्रत्यक्ष हवाई प्रवेश बिन्दु (एयर रुट) नखुल्नु पनि मानिएको छ । नेपालले पटक–पटक आग्रह गरे पनि भारतले पोखरा केन्द्रित नयाँ हवाई मार्ग उपलब्ध नगरिरहेको अवस्था छ ।
हाल अधिकांश अन्तर्राष्ट्रिय जहाजलाई काठमाडौं केन्द्रित रुट प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । यसले पोखराबाट सीधा अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनीलाई महँगो र अव्यावहारिक बनाएको जानकारहरू बताउँछन् ।
व्यवसायीहरूका अनुसार प्राविधिकभन्दा बढी यो कूटनीतिक र राजनीतिक विषय बनेको छ । संघीय सरकारले पर्याप्त पहल गर्न नसकेको आरोप स्थानीय व्यवसायी र पर्यटन क्षेत्रले लगाउँदै आएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घ का अध्यक्ष गोकर्ण कार्कीले भारतसँग प्रत्यक्ष हवाई पहुँच नखुलेसम्म विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन कठिन हुने बताउनुभयो । उहाँका अनुसार स्थानीय तह, निजी क्षेत्र र प्रदेश सरकारले पटक–पटक दबाब दिए पनि संघीय स्तरबाट निर्णायक पहल हुन सकेको छैन ।
निर्माणमै उठे प्राविधिक त्रुटिका प्रश्न
विमानस्थल निर्माण प्रक्रियादेखिनै प्राविधिक कमजोरी र डिजाइन त्रुटिबारे प्रश्न उठ्दै आएका थिए । प्राविधिकहरूले रनवे आसपासको भू–बनोट, पहाडी भूगोल, कमजोर दृश्यता, उपकरण जडान तथा केही संरचनागत पक्षमा दीर्घकालीन चुनौती रहेको औँल्याउँदै आएका छन् ।
विशेष गरी अन्तर्राष्ट्रिय स्तरका ठूला जहाजको नियमित सञ्चालनका लागि आवश्यक ‘फ्लाइट प्रोफाइल’, मौसमीय जटिलता तथा एयर ट्राफिक व्यवस्थापनबारे प्रारम्भदेखि नै चिन्ता व्यक्त गरिएको थियो ।
कतिपय उड्डयन विज्ञहरूले विमानस्थलको निर्माण गर्दा व्यावसायिक सम्भाव्यता अध्ययनभन्दा राजनीतिक महत्वाकाङ्क्षालाई प्राथमिकता दिइएको टिप्पणी गर्दै आएका छन् ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भए पनि सञ्चालन रणनीति, बजार सुनिश्चितता र अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटीबिना परियोजना अघि बढाइएको आरोप लाग्दै आएको छ ।
भ्रष्टाचार अनुसन्धानको घेरामा परियोजना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया भ्रष्टाचार विवादबाट पनि मुक्त रहन सकेन । निर्माण लागत, ठेक्का प्रक्रिया, उपकरण खरिद तथा भुक्तानी प्रणालीमा अनियमितता भएको भन्दै विभिन्न निकायले प्रश्न उठाउँदै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे चरणबद्ध अनुसन्धान अघि बढाउँदै मुद्दासमेत दायर गरिरहेको छ ।
सार्वजनिक लेखा समितिदेखि विभिन्न संसदीय छलफलमा समेत चिनियाँ ऋणमा बनेको परियोजनाको लागत, गुणस्तर र पारदर्शितामाथि प्रश्न उठाइएको थियो । विपक्षी दलहरूले यसलाई “ऋणको भारी बोकेको तर उपयोग हुन नसकेको परियोजना” को संज्ञा दिँदै आएका छन् ।
पर्यटन क्षेत्रमा अर्बौं लगानी जोखिममा
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा विदेशी पर्यटकको चाप बढ्ने अपेक्षासहित होटल, रिसोर्ट र पर्यटन पूर्वाधारमा ठूलो लगानी भएको थियो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानस्थललाई लक्षित गरेर पोखराको पर्यटन क्षेत्रमा मात्रै झण्डै एक खर्ब रुपैयाँ थप लगानी भइसकेको छ ।
तर अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान नहुँदा होटल व्यवसायीदेखि पर्यटन उद्यमीहरू चिन्तित बनेका छन् । पोखरामा अहिले पनि तारे होटलहरू निर्माण भइरहेका छन्, तर पर्यटक आगमन अपेक्षाअनुसार नबढ्दा लगानीको प्रतिफल अनिश्चित बन्दै गएको व्यवसायीहरूको गुनासो छ ।
व्यवसायीहरूले भारत र चीनका मुख्य सहरसँग सीधा उडान अनुमति, राष्ट्रिय ध्वजावाहक Nepal Airlines बाट नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन, कर तथा नीतिगत सहजीकरण र आक्रामक कूटनीतिक पहल गर्न सरकारसँग माग गर्दै आएका छन् ।
‘ड्रिम प्रोजेक्ट’ कि आर्थिक बोझ ?
५० वर्षअघिको सपना पूरा भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले प्रयोगभन्दा बढी राजनीतिक बहसको विषय बनेको छ । उद्घाटनका बेला राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्रचार गरिएको विमानस्थल अहिले नियमित अन्तर्राष्ट्रिय उडान अभाव, प्राविधिक प्रश्न, कूटनीतिक अवरोध र भ्रष्टाचार विवादका कारण आलोचनाको केन्द्रमा पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न कूटनीतिक पहल गरिने उल्लेख गरेको छ । तर व्यवसायी र स्थानीयवासी भने अब घोषणाभन्दा परिणाम चाहिएको बताउँछन् ।
उनीहरूको भनाइमा, पोखरालाई साँच्चिकै अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने हो भने विमानस्थललाई ‘उद्घाटनको राजनीति’ बाट निकालेर प्रभावकारी सञ्चालनतर्फ लैजानु अपरिहार्य भइसकेको छ ।




प्रतिक्रिया राख्नुहोस्