जापान

तोचिगीमा भएको डकैती तथा हत्या प्रकरणमा थप एक महिला पक्राउ

जापानको राजधानी टोकियोको उत्तरतर्फ रहेको तोचिगी प्रिफेक्चरमा एक परिवारमाथि भएको घातक आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । यसअघि पाँचजना पक्राउ परिसकेका छन् ।

जापानी संचार माध्यम नएचकेका अनुसार प्रहरीले ती महिलालाई आइतबार दिउँसो टोकियो नजिकैको कानागावा प्रिफेक्चरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिला २५ वर्षीया मियु ताकेमाए रहेको प्रहरीले जनाएको छ ।

गत बिहीबार कामिनोकावा टाउनस्थित एक घरमा धेरै व्यक्तिहरू जबर्जस्ती प्रवेश गरेका थिए । आक्रमणका क्रममा ६९ वर्षीया महिलामाथि छातीमा छुरा प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । साथै, उनका ३० र ४० वर्ष उमेर समूहका दुई छोरा घाइते भएका थिए ।

यस घटनामा संलग्न भएको आरोपमा कानागावाका १६ वर्ष उमेरका चारजना उच्च माध्यमिक तहका विद्यार्थीलाई यसअघि नै डकैती तथा हत्या अभियोगमा पक्राउ गरिएको जापानी प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले आइतबार बिहान पक्राउ परेकी महिलाका २८ वर्षीय पति ताकेमाए काइटोलाई पनि टोकियोस्थित हानेदा विमानस्थलबाट पक्राउ गरेको थियो । उनी जापानबाट भाग्ने प्रयासमा रहेको आशंका गरिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ताकेमाए दम्पतीले आक्रमणकारीहरूलाई निर्देशन दिएको हुनसक्ने विश्वास गरिएको छ । प्रहरीले पक्राउ परेका किशोरहरूलाई निर्देशन दिने अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ ।

जापानमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत आपराधिक समूहले किशोरहरूलाई प्रयोग गरेर गराइने ‘यामी बाइटो’ (रातको पार्टटाइम काम) सम्बन्धी अपराध बढ्दो चिन्ताको विषय बनेको छ । प्रहरीले यस घटनाको सम्बन्ध पनि त्यस्ता संगठित आपराधिक सञ्जालसँग हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.