विश्व समाचार

युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी

संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीस्थित अल धाफ्रा क्षेत्रमा रहेको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएको छ ।

ड्रोन आक्रमणबाट आगलागी भएपछि सुरक्षा सतर्कता बढाइएको छ भने सम्बन्धित निकायहरूले अवस्थालाई नियन्त्रणमा लिएको बताएका छन् ।

युएईको सरकारी मिडिया कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाराकाह आणविक ऊर्जा संयन्त्रको भित्री सुरक्षात्मक घेराबाहिर रहेको विद्युत् आपूर्ति प्रणालीमा ड्रोन आक्रमण भएको जनाएको हो ।

आक्रमणपछि विद्युतगृहमा आगलागी भएको र तत्काल सुरक्षा तथा उद्धार टोली परिचालन गरिएको बताइएको छ । अधिकारीहरूका अनुसार घटनापछि आपत्कालीन प्रतिक्रिया प्रणाली सक्रिय पारिएको थियो ।

सुरक्षाकर्मी तथा प्राविधिक टोलीले आगो नियन्त्रणमा लिनुका साथै ऊर्जा केन्द्रको सुरक्षा अवस्थाको मूल्याङ्कन गरेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन ।

सरकारी मिडिया कार्यालयले जारी गरेको वक्तव्यमा रेडियोधर्मी विकिरणसम्बन्धी सुरक्षा प्रणालीमा कुनै असर नपरेको स्पष्ट पारेको छ । “घटनाले आणविक सुरक्षा मापदण्डमा कुनै प्रभाव पारेको छैन र विकिरणको जोखिम देखिएको छैन,” वक्तव्यमा भनिएको छ ।

बाराकाह आणविक ऊर्जा केन्द्र युएईको पहिलो आणविक ऊर्जा परियोजना हो । यो संयन्त्र देशको ऊर्जा आपूर्ति प्रणालीका लागि महत्त्वपूर्ण मानिन्छ ।

पछिल्ला वर्षहरूमा मध्यपूर्व क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणका घटनाहरू बढिरहेका बेला ऊर्जा तथा रणनीतिक संरचनाहरूको सुरक्षाप्रति चासो बढ्दै गएको छ ।

घटनापछि युएईका सुरक्षा निकायहरूले ड्रोन आक्रमणको स्रोत र उद्देश्यबारे अनुसन्धान सुरु गरेका छन् । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

अन्तर्राष्ट्रिय समुदायले पनि आणविक पूर्वाधारमा हुने सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गर्दै संवेदनशील संरचनाको सुरक्षा सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.