मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताउनुभएको छ ।
मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिद्वारा शनिबार काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उहाँले मदन केवल राजनीतिक नेतृत्वकर्ता मात्र नभई जनताको आकाङ्क्षा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आवश्यकतालाई राजनीतिक कार्यक्रममार्फत संस्थागत गर्न सक्ने विशिष्ट चिन्तक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जननेता मदन भण्डारी सामान्य राजनीतिक नेता मात्रै हुनुहुन्नथ्यो, उहाँ विचार निर्माण गर्ने एक प्रखर नेताका रूपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिनुभएको थियो ।”
जननेता मदन भण्डारीका विचार, राजनीतिक योगदान तथा सञ्चारमैत्री व्यक्तित्वमाथि केन्द्रित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस गरिएको थियो । कार्यक्रममा राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी, युवा तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक जीवन, उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज), मिडियासँगको सम्बन्ध तथा समकालीन राजनीतिमा उहाँका विचारहरूको सान्दर्भिकताबारे व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि जननेता मदन भण्डारीको राजनीतिक दूरदृष्टि, वैचारिक स्पष्टता तथा मिडियासँगको सकारात्मक सम्बन्धको चर्चा गरेका थिए ।
वक्ताहरूले आजको राजनीतिक परिवेशमा पनि मदन भण्डारीका विचार र अभिव्यक्तिको शैली युवापुस्ताका लागि प्रेरणादायी रहेको धारणा राख्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्