राजनीति

ओलीको प्रश्न- अमेरिकी सहायक मन्त्री कसको इजाजतमा गुम्बा गुम्बा घुमे ?

नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक मन्त्रीले गुम्बा गुम्बा भ्रमण गरेकोमा आपत्ति जनाउँदै सरकार एक चीन नीतिमा छ कि छैन भनी जवाफ माग गर्नुभएको छ ।

ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाउँदै अमेरिकी सहायक विदेशीमन्त्री आएर सम्वेदनशील क्षेत्रको भ्रमणमा जाँदा इजाजत लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्दै लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो र कसको विपक्षमा दिनुभयो भन्दै प्रश्न गर्नुभयो ।

बिहीबार आर्थिक वर्ष २०७९।२०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओलीले आफ्नो भूमि प्रयोग गर्न नदिने नीतिमा सरकार अडिग छ कि छैन भनी सरकारसँग जवाफ माग गर्दै उपरोक्त धारणा राख्नुभएको हो ।

नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाएको जानकारी दिनुहुँदै उहाँले छद्म नीति नलिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘‘नेपाल हाम्रा छिमेकीहरुसँग छद्म मुखमा एउटा कुरा व्यवहारमा अर्को कुरा होइन ।

वास्तविक अर्थमा सन्तुलित, एक अर्कामा नखेल्ने, एउटा कार्ड अर्काको विरुद्ध प्रयोग नगर्ने र सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?

परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताउहाँले नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ? भन्दै प्रधानमन्त्रीसंग जवाफ माग्नुभएको छ ।

यसै गरी अध्यक्ष ओलीले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा नीति तथा कार्यक्रममा केही कुरा नआएको भन्दै यस विषयमा सरकारको नीति के हो र बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी प्रश्न गर्नुभएको छ ।

ओलीले भन्नुभयो ‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग, ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.