बालमन्दिर जग्गा प्रकरण : २० जना बिरुद्ध पक्राउ पूर्जी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बाल मन्दिरको स्वामित्वमा रहेको सरकारी जग्गा अपचलनको आरोपमा २० जना बिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सिआईबीले काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलन प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पूर्ज जारी हुनेमा संगठनका पूर्व पदाधिकारीदेखि सो बालमन्दिरको जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य रहेका छन् ।
सिआइबीले बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिविरूद्ध जाहेरी दर्ता गरेको थियो । सोही जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको हो ।
पक्राउ पूर्जी जारी हुनेमा बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ रहेका छन् ।
यसै गरी प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठ र बृहस्पति विद्या सदन तर्फका पदाधिकारीहरू विरूद्ध पनि पूर्जी जारी भएको समाचारमा जनाइएको छ।
पूर्जी जारी हुनेमा अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडिया रहेका छन् ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।
नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो।
अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।
प्रतिक्रिया राख्नुहोस्