सर्वसम्मतले संविधान संशोधन प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको आग्रह
नेपालको नयाँ नक्सा जारीपछि संविधानको अनुसूची ३ संशोधन गर्न सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासा बालुवाटारमा मंगलबार साँझ बोलाइएका सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी छ ।
त्यसको पूर्वसंध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संशोधन विधेयक विना शर्त सर्वसम्मत पास गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीको आग्रहपछि बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् ।
बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको तर पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भनेकाले केही समय दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेश र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् ।