जल/वातावरण

लखनाउबाट आउँदा मृत्यु भएका पुरुषमा कोरोना संक्रमणको पुष्टि

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा बुधबार मृत्यु भएका ५७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको अन्त्येष्टि भएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिएको हो ।

ती सङ्क्रमितको अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनाले लिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

शव व्यवस्थापनका लागि आज अपराह्न ललितपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख, महानगरपालिकाका प्रतिनिधि, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का निर्देशकलगायत केही सुरक्षाकर्मीको बैठक बसी विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्ने निर्णय भएको थियो ।

यही जेठ ११ गते किष्ट अस्पतालमा कलेजोको समस्या (क्रोनिक लिभर डिजिज) उपाचार गराउन ती व्यक्ति भर्ना भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिनुभयो । सो व्यक्तिलाई गाह्रोे भएपछि अस्पतालको आइसियूमा राखियो । आइसियूमा राख्दा पनि गाह्रो भएपछि एमआइसियूमा राखियो । जेठ १२ गते उनको पिसिआर विधिद्वारा थ्रोट स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

बुधबार अपराह्न ४ बजेर ५ मिनेटमा सो व्यक्तिको मृत्यु भएको थियो । मृतकको स्वाबको नतिजा बुधबार नै साँझ ७ बजे आएपछि मात्र कोरोना सङ्क्रमण पुष्टि भएको बज्राचार्यले बताउनुभयो ।

यसैबीच भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो।

भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो । शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको र उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.