अर्थकृषि

धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो दाङको घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बार्है महिना खेती गर्ने गरेको उहाँले बताउनुभयो ।

धनियाँ

उहाँका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्नुहुन्थ्यो । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ रु दुई हजार चार सयमा खरिद गरि खेती गरेको उहाँले बताउनुभयो । त्यो धनियाँ बिक्री गरेर रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।

बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उहाँले बताउनुभयो । सिजनमा रु पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उहाँले बताउनुभयो । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताउनुभयो । उखेल्न नसकेको समयमा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उहाँको भनाइ छ ।

धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ”, उहाँले भन्नुभयो । गत वर्ष यी तीन महिनामा रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो । सरदर वर्षको रु आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

“धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।”

उहाँसँग बार्है महिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बार्है महिना गर्ने गरेको उहाँले बताउनुभयो । “इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.