कर्पोरेट/पर्यटन

नयाँ मापदण्डसहित चीन, टर्की र कतार नियमित उडान हुने

कोरोना भाइरसको नयाँ लहर सुरु भएसंगै स्थगित भएको नेपालको अन्तर्राष्ट्रिय उडान आज (जेठ १८)बाट उडान खुला भएको छ । पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उडान हुनेछ ।

हवाई उडान सुरु गर्ने तयारीसंगै सरकारले सोमवार नयाँ मापदण्ड जारी गरेको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न जारी गरेको मापदण्डमा आवत-जावतदेखि होटल क्वारन्टीन र होम क्वारन्टिसम्मका विषय समेटिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो ।

कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको प्रयासमा चालिएका प्रतिबन्धात्मक कदमसँगै वैशाख तेस्रो सातादेखि नियमित उडानहरू पनि रोकिएका छन् । उहाँका अनुसार टर्किस एअरलाइन्सले बिहीवारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो भने नेपाल एअरलाइन्स र चिनियाँले पनि आवेदन दिएसंगै यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ ।

गत बिहीवार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल र भारतबीच हप्तामा एकएकवटा उडान गर्दै आएका छन् ।

विदेशीले पालना गर्नुपर्ने मुख्य बुँदा यस्ता छन्

पछिल्लो ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिनका लागि होटल बुकिङ गरेको प्रमाणका आधारमा नेपाल आउने अनुमति पाइने,

नेपाल आइसकेपछि आफ्नै खर्चमा १० दिन अनिवार्य होटल क्वारन्टीनमा बस्नुपर्ने,

होटल क्वारन्टीनपछि लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा भनिए बमोजिमका आइसोलेशनमा बस्नुपर्ने,

अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट आउने व्यक्तिहरूलाई स्थानीय तहको सिफारिशमा कम्तीमा १० दिन अनिवार्य होम क्वारन्टीनमा गन्तव्यमा जान दिइने,

होम क्वारन्टीनमा बस्दा आफ्नै खर्चमा एघारौँ दिन पीसीआर परीक्षण गराउनुपर्ने,

खाडी मुलुक र मलेशियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकमा पाँच दिन अनिवार्य होटल क्वारन्टीन बसेर पीसीआर नेगेटिभ आएपछि १० दिन होम क्वारन्टीनमा बस्नेगरी जान दिइने,

कोभिड नियन्त्रणसम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारन्टीन बस्ने गरी जान दिइने,

क्वारन्टीन अवधि पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई प्रस्थानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने,

स्वीकृत उडानमार्फत् नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन चार र पाँच तारे होटलमा क्वारन्टीनका लागि बुकिङ गर्न सक्ने,

नेपाल आउने जोकोहीले जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको पाइएमा कोभिड९१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.