कर्पोरेट/पर्यटनबिशेष

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिएसेवा

निर्माण सम्पन्न भएर उडान संचालन भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट विगत एक महिनायता नियमित उडान भैरहेको छ ।

गत असोज ७ गतेदेखि फ्लाइ दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेयताको एक महिनामा ६ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताउनुभयो । उहाँका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रूपमा लिइएको छ ।

“नेपालीहरूको ठूला चाड दशैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुहरूको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरू समेत बढिरहेका छन् । सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ । यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्धनात्मक काम गर्नुपर्छ”, महाप्रवन्धक निरौलाले भन्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

“दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गर्नुभएको छ ।

लामो समय पछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाँही अन्तरराष्ट्रिय चार्टर उडान हुनु बाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो । फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनी समेत पोखरामा उडान भर्न आकर्षित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.