सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत आकर्षक रोजगारी, उच्च आम्दानी र सहज वैदेशिक रोजगारको प्रलोभनमा परी भारतको सीमावर्ती क्षेत्रमा श्रम शोषण तथा सञ्जाल ठगी (नेटवर्किङ फ्रड) मा फसेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको संयुक्त कारबाहीका क्रममा ११५ महिला र ३३८ पुरुष गरी कुल ४५३ जना नेपाली नागरिकलाई उद्धार गरिएको हो। उनीहरूलाई अनलाइनमार्फत विभिन्न प्रकारका रोजगारीका अवसरको प्रलोभन देखाई भारत पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उद्धार कार्य नेपाली दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायहरू र गैरसरकारी संस्थाहरूको संयुक्त प्रयासमा सम्पन्न भएको हो।
कारबाहीका क्रममा उद्धार गरिएका नेपाली नागरिकहरूलाई विभिन्न स्थानमा राखेर श्रम शोषणका साथै अनलाइन तथा सञ्जाल ठगीसम्बन्धी गतिविधिमा संलग्न गराइएको आशंका गरिएको छ।
उद्धारपछि सबै नेपाली नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी गत जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, रूपन्देहीलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
नेपाल ल्याइएका व्यक्तिहरूमध्ये केहीलाई पीडितका रूपमा पहिचान गरिएको छ भने घटनामा संलग्न रहेको आशंकामा ६ जना महिलासहित १९ जनालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार, वैदेशिक रोजगारीको नाममा ठगी तथा संगठित अपराधसँग सम्बन्धित गतिविधिमा संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट घटनामा संलग्न नेटवर्क, भर्ती प्रक्रिया तथा आर्थिक कारोबारका पक्षहरूबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
हालका वर्षहरूमा सामाजिक सञ्जाल, म्यासेजिङ एप तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत विदेशी रोजगारी, डिजिटल मार्केटिङ, अनलाइन व्यापार तथा उच्च तलबका कामको प्रलोभन देखाएर नेपाली युवायुवतीलाई ठगी गर्ने घटनामा वृद्धि हुँदै गएको छ।
यस्ता प्रकरणमा पीडितहरूलाई वास्तविक कामभन्दा फरक गतिविधिमा संलग्न गराउने, लामो समयसम्म काम गराएर पारिश्रमिक नदिने तथा स्वतन्त्र आवतजावतमा समेत प्रतिबन्ध लगाउने गरेको पाइएको छ।
नेपाल सरकार तथा भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
साथै, वैदेशिक रोजगारी, अनलाइन काम वा अन्य कुनै अवसरका नाममा आउने आकर्षक प्रस्तावहरूको सत्यता नबुझी विश्वास नगर्न, आधिकारिक निकायबाट जानकारी लिन र शंकास्पद गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्