बिशेषराजनीति

सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच विकास साझेदारीमा केन्द्रित छलफल

भारतको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस जयशङ्करबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।

भारतका विदेशमन्त्री जयशङ्करले सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपाल र भारतबीचको विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नयाँ दिल्लीमा लामिछाने तथा उहाँको टोलीसँग भेट गर्न पाएकोमा खुसी लागेको उल्लेख गर्नुभएको छ।

भेटवार्ताका क्रममा दुई देशबीच विद्यमान ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

खुला सीमा, जनस्तरको घनिष्ठ सम्बन्ध, व्यापार, लगानी, पर्यटन, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप विस्तार गर्ने विषयले पनि छलफलमा स्थान पाएको बुझिएको छ।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको हो।

भ्रमणका क्रममा भारतीय सरकारका उच्च अधिकारी, राजनीतिक नेतृत्व, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।

नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको नेतृत्वले भारतको सत्तारुढ दलको निमन्त्रणामा गरेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको समकालीन आयामसँग जोडेर हेरिएको छ।

भ्रमणले दुई देशका राजनीतिक दलहरूबीचको संवाद विस्तार गर्न तथा पारस्परिक समझदारी अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, रास्वपा सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ।

रास्वपाले यस भ्रमणलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, लोकतान्त्रिक अभ्यासको आदानप्रदान तथा विकासका साझा अनुभवहरूको अध्ययनसँग जोडिएको औपचारिक राजनीतिक भ्रमणका रूपमा व्याख्या गरेको छ। नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.