दलित भनेर राजनीति गर्नुको साटो पुख्र्यौली सीपलाई उद्योगमा बदलेको भए…
विश्वका गरीबमध्येको एक र विश्वकै सबैभन्दा धनी, शक्तिशाली मुलुक अमेरिकामा आज एउटै विषयले सडक तातेको छ जातीय विभेद । नेपालमा एक दलित युवक र उच्च जातकी युवतीबीचको प्रेमलाई विवाह परिणत गर्नखोज्दा ती युवकसहित अरु ५ जनाले ज्यान लिए भने अमेरिकामा एक अश्वेतलाई प्रहरीले हत्या गरेको भन्दै हिंसा भड्केको छ र त्यहाँको स्थिति अत्यन्त नाजुक छ ।

अमेरिकामा रंगभेद उच्च तहमा रहेको छ भने नेपालमा जातीय विभेद छ । यस्तो हुनुमा जातलाई राजनीतिकरण गर्नु प्रमुख रहेको छ । जातीय विशेषता र पेशागत खुबी अनि सीपका आधारमा विभाजित गरिएको वर्गलाई जातीय जामा पहिराएर राजनीति गर्नुको साटो उनीहरुको सीपलाई उद्यमशीलतामा बदलेका भए आज जातकै आधारमा कसैले ज्यान गुमाउनुपर्ने थिएन ।
मूर्ति बनाउने विश्वकर्मा जन्मजात इञ्जिनिर हुन्, उनीहरुले संसारको कुनै पनि विश्वविद्यालयबाट डिग्री हाँसिल गरेका छैनन् तर मुर्ती बनाउँछन्, हतियार बनाउँछन् । उनीहरु श्रेष्ठ जाति हुनुपर्नेमा दलित बनाएर राजनीतिको औजार बनाइएको छ अनि छुवाछुतको रंग दलेर समाज विकासको धारा बदल्ने प्रयास भैरहेको छ ।
नेपालमा जति पनि दलित भनिने जाति छन् उनीहरु कला, कौशल र सीपले निपूर्ण कुशल कर्मी हुन्, तर उनीहरुको त्यो सीपलाई कहिल्यै उत्थान गरिएन र उनीहरुलाई राजनीति ऊर्जाको स्रोत मानेर भड्काउने काम मात्र गरियो । भेदभावहित समाज भन्दै जातीय विभेदको खाडल खन्नुको साटो उनीहरुमाा रहेको वंशाणुगत क्षमतालाई देशको आर्थिक विकासमा उपयोग गर्न सकेको भए आज देशको स्थिति अर्कै हुन्थ्यो ।
आज विश्वमा आधुनिकता र समानता अनि विभेदरहित समाजको नाममा राजनीतिक हिलो छ्यापेर वंशाणुगत पेशाबाट ती शिल्पीहरुलाई विमुख गरिएको छ । जसले गर्दा नेपालको अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ । वैदेशिक रोजगारीले साना–साना कुराहरु आयात गरेर मुलुक धानिएका बेला जातीय विभेदको नाराले वंशाणुगत पेशा लोप हुने अवस्थामा पुगेको छ ।
वंशाणुगत गुण र सीप पेशा अनि व्यवसायलाई व्यावसायिक बनाउँदै उनीहरुलाई सम्मानजनक स्थान दिनुको साटो ‘दलित’ भनेर उनीहरुको सीप र क्षमतालाई वेवास्ता गर्दै आरक्षण र अनुदानमा बाँच्न विवश पारिंदा त्यो अपार सीप र क्षमता राज्यको रुपान्तरणमा प्रयोग नै हुन सकेन ।
अहिले समय बदलिंदैछ । कतिपय युवाहरु पुख्र्यौली पेशामा आकर्षित हुन थालेका छन् । आफूले रगतमै बोकेर आएको सीप त्यागेर विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै गाउँघरमा काम गरे विदेशकोभन्दा राम्रो कमाई हुन्छ भन्ने पनि चेतना जागृत हुँदैछ । तर, सरकारले अहिलेसम्म वंशाणुगत पेशाको प्रबद्र्धन गर्न चासो दिएको छैन ।
आज सानासाना औजारहरु विदेशबाट ल्याइन्छन् । हाम्रा गाउँघरमा आरनमा काम गर्नेहरुको पेशाको संरक्षण खोई ? तयारी पोशाक उद्योगमा भारत र बंगलादेशबाट कामदार ल्याइन्छन्, परम्परागत रुपमा लुगा सिलाउने काम गर्दैआएका ‘दमाई’हरुलाई रोजगारी खै ? उनीहरुलाई पेशाबाट विमुख गरिएको छ विदेशीको स्वार्थका कारण । दमाईलाई तिमीहरु लुगा मात्र सिउने हो र भन्दै भड्काइदिएका छन् कथित डलरे अभियानकारीहरुले ?
आज माटाका भाँडाहरु विदेशबाट आउँछन्, हाम्रा कुमालेहरुलाई सेरामिक्स उद्योगका मालिक बनाउन किन सकिन्न ? के उनीहरु सधैं सामान्य भाँडाकुडामै चित्त बुझाएर बस्नुपर्ने हो ? खै यस्ता कुरातिर राज्यको दृष्टि र नीति ? परिणाम आफ्नो पेशा छाडेर अन्तै भौतारिन्छन्, धर्म–संस्कति समेत बदलेर । यसलाई जातीय नारा दिइयो, अधिकारको जामा लगाइयो अनि समाज भाँड्ने काम भयो ।
वास्तवमा वंशाणुगत संस्कार, पेशा नेपालको मौलिक शिक्षा थियो र अझै कताकती छ । यस्ता परस्परका एक प्रकारका अलौकिक विशेषता यो भूखण्डका जातीय विशेषता थियो तर तिनको समुचित संरक्षण, सम्वद्र्धन र समयानुकुल विकासतिर ध्यान दिइएन । त्रिशुली नदीमा बस डुब्दा विदेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता किन आइपर्यो, भन्दा वंशाणुगत सीप र पेशाको प्रबद्र्धन नभएर हो । जसले गदौ गोताखोरी, पौडीवाज र जलक्रिडाका विषयमा विशेषता हासिल गरेर कीर्तिमान कायम गर्नसक्ने बोटेहरू किं कर्तव्य विमुढको स्थितिमा पुगे ।
त्यस्तै व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिने र सुसभ्य, सुसंस्कृत र सौन्दर्यका साथै इज्जतको प्रतीक शिरदेखि पाउसम्मको आकर्षण थरिथरिका पोशाक तयार गर्ने कुशल दमाइहरू किन साउदी र कतार जान मात्रै उत्सुक भए । किन उनीहरु तयारी पोशाक निर्यातक किन बन्न सकेनन् ? सार्कीहरूले ठूलठूला छाला जुत्ता कारखाना खोलेर उद्योगपतिको स्थान किन लिन पाएनन् ? किनभने उनीहरुलाई उठाउनेभन्दा राजनीतिक दाउपेचको शिकार बनाएर विदेशीको इशारामा आफ्नो स्वार्थपूर्ति गर्नतिर सबै लागे ।
अहिले दलित भनिने यी जात विशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा उच्चकोटीका छन् । यिनीहरूमा केही कमी थिएन, कलाका धनी थिए । सीप र जाँगर तथा स्वाभिमानी र स्वावलम्बी थिए । तर नेपालको बहुआयामिक यस्तो विशेषतामा पश्चिमा रणनीतिको ग्रहण लाग्यो । उनीहरूको जीवनशैली तथा संस्कार र संस्कृतिमाथि अतिक्रमण हुनाका साथै उनीहरूका जीवनधारका सवै क्षेत्र र साधन खोसियो ।
वंशाणुगत पेशा अपनाउनेलाई सहुलियत र पुरस्कृत गर्ने नीति सरकारले लिनेन हो भने अझै केही बिग्रिसकेको छैन । यी सीप र क्षमताका धनी जातिलाई सरकारले संरक्षण गरेर अघि बढाउने हो भने नेपालको गरीबी केही वर्षमै ह्वात्तै घट्छ । विश्व बैंक वा मुद्राकोषको तथ्यांक देखाउनै पर्दैन, जनताको घरघरमा समृद्धिको उज्यालो पुगिसकेको हुनेछ ।
आज पशुपक्षी र बोटबिरुद्धको वंश संरक्षण गर्न करोडौं खर्च गरिन्छ तर मानवीय गुण संरक्षणको साटो उनीहरुलाई कथित जातका आधारमा आफ्नो वंशप्रति नै घृणा पैदा गराउने काम गरिन्छ । पशुपक्षीको आणुवंशिक विशेषताको संरक्षण, सम्वद्र्धन जति हुन्छ त्यसको एक छेउ पनि मानिसमा भएन । विकासको पश्चिमा सूत्र कण्ठस्थ पारेर उनीहरुबाटै दीक्षित भएर आएकाहरु एकातिर अनि आफूलाई वर्गरहित समाज निर्माणको ठेकेदार बताउनेहरुको दोहोरो चेपुवामा परेको नेपालको उन्नतिका आधारस्तम्भ हुनसक्ने वंशाणुगत पेशाको नवीकरण नै समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउने पहिलो आधार हो ।
तर राजनीति गर्नेहरुले यस्ता कुरामाा पटक्कै चासो दिंदैनन् । उनीहरु समाजमा कहिले यस्ता प्रकारका घटना घटला र यसमा खेलेर आफ्नो प्रभाव विस्तार गरौंला भनेर मौका कुरिरहेका ह्न्छन् । माथी नै उल्लेख गरियो कि जातीय सीपलाई औद्योगिक रुप दिने हो भने नेपाली समाजमा सबभन्दा श्रेष्ठ जाति नै यिनीहरु हुनेछन् । के राजनीतिक दल, सरकार, अधिकारकर्मी यो काम गर्न अग्रसर हुन्छन् ? भेदभावको अन्त्य नाराको विषय हैन, कर्मले मानिस जहिल्यै श्रेष्ठ बन्छ, जो कर्मले जहिल्यै श्रेष्ठ छन् उनीहरुलाई कथित दलित भनेर भेदभावको शिकार बनाएर राजनीति गर्ने क्रमभंग गरौं उनीहरुको सीपलाई प्रयोग गरौं ।
प्रतिक्रिया राख्नुहोस्