बिहिबारदेखि काठमाडौंमा आधादिन पसल खोल्ने व्यवसायीहरुको एकतर्फी निर्णय
झण्डै साढे दुई महिनाको लकडाउनले थलिएका व्यवसायीहरु अब लकडाउनको अवज्ञा गर्दै पसलहरु खोल्ने निष्कर्षमा पुगेका छन् । भोलि बिहिबारदेखि काठमाडौंमा बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने व्यवसायीहरुले निर्णय गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
महासंघका महासचिव अञ्जन शाक्यले बिहीबारदेखि बिहान ११ बजेसम्म नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएर पसलहरु खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको बताउँदै उहाँले भन्नुभयो ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छौँ ।’
सुरक्षा उपाय अपनाएर पसल खोल्दा बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने शाक्यको कथन छ ।
प्रतिक्रिया राख्नुहोस्