चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्नुहुने
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।
चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ । उहाँको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।
यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो । विशेषगरी युक्रेन युद्धमा समर्थनस्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ ।
अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक विलियम याङका अनुसार रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमणमार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तरपूर्वी एसियामा आफ्ना रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ ।
सीको भ्रमण बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका उच्चस्तरीय भेटघाटपछि हुन लागेको हो । यसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो भूमिका बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।
भ्रमणको घोषणा उत्तर कोरियाले आणविक बम निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्ने नयाँ सुविधा सार्वजनिक गरेको भोलिपल्ट गरिएको हो । दक्षिण कोरियाली सेनाले उक्त संरचनालाई युरेनियम संवर्धन केन्द्रका रूपमा मूल्याङ्कन गरेको छ ।
उक्त केन्द्रको निरीक्षणका क्रममा किमले देशको आणविक शक्तिलाई द्रुत रूपमा बढाउने योजना सार्वजनिक गर्नुभएको थियो । विज्ञहरूका अनुसार यसले सीको भ्रमणअघि उत्तर कोरियाले आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा अझ बलियो रूपमा प्रस्तुत गर्न खोजेको सङ्केत दिएको छ ।
विश्लेषकहरूका अनुसार किम उत्तर कोरियालाई अन्तर्राष्ट्रिय रूपमा आणविक राष्ट्रका रूपमा स्वीकार गराउँदै प्रतिबन्ध हटाउन वा खुकुलो बनाउन चाहनुहुन्छ ।
साथै भविष्यमा अमेरिकासँग हुने सम्भावित वार्तामा आणविक कार्यक्रमको आंशिक कटौतीको बदलामा राजनीतिक तथा आर्थिक रियायत प्राप्त गर्ने रणनीति पनि उहाँको हुन सक्ने आकलन गरिएको छ ।
सन् २०१९ मा ट्रम्पसँगको कूटनीतिक प्रयास असफल भएपछि किमले आणविक कार्यक्रम विस्तारलाई प्राथमिकता दिँदै आउनुभएको छ । ट्रम्पले भने पुनः वार्ताको इच्छा व्यक्त गरिरहनुभएको छ । तर उत्तर कोरियाले अमेरिकाले आणविक निःशस्त्रीकरणलाई पूर्वसर्त बनाउन छाडेपछि मात्र सार्थक संवाद सम्भव हुने अडान राखेको छ ।
गत सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता गर्दा सी र किमले आपसी सहयोग तथा समर्थन बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यतिबेला किम चिनियाँ सैन्य परेडमा सहभागी हुन बेइजिङ पुग्नुभएको थियो ।
रुस र चीनले विगतमा उत्तर कोरियामाथि थप कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अमेरिकी प्रयासहरूको विरोध गर्दै आएका छन् । गत महिना बेइजिङमा भएको भेटमा पुटिन र सीले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध, राजनीतिक अलगाव र सैन्य दबाब बढाउने गतिविधिको विरोधसमेत गर्नुभएको थियो ।
पछिल्ला वर्षहरूमा किमले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिँदै अमेरिका र उसका साझेदार राष्ट्रहरूसँग तनावमा रहेका देशहरूसँग सम्बन्ध विस्तार गर्ने नीति अघि बढाउनुभएको छ ।
कोभिड–१९ महामारीपछि विदेश भ्रमण घटाउनुभएका सीका लागि पनि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको यो भ्रमणले चीन–उत्तर कोरिया सम्बन्ध मात्र नभई उत्तरपूर्वी एसियाको सुरक्षा र शक्ति समीकरणमा पनि नयाँ सन्देश दिनेछ ।




प्रतिक्रिया राख्नुहोस्