‘कोभिशिल्ड’को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’
कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै फर्मुला र कम्पनीमा बनेकाले लगाउन केही फरक नपर्ने
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ ।
कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिनुभयो । उहाँले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन ।
एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गर्दै निर्देशक डा तारानाथ पोखरेलले जारी गर्नुभएको सूचनामा भनिएको छ “खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछौं” ।
“उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।”
गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।
सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उहाँले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गर्नुभएको छ । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मङ्गलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ ।
प्रतिक्रिया राख्नुहोस्