प्रदेशसुदूरपश्चिम

माधव नेपाल पक्ष अझै पनि माओवादीको साथमा

नेपाल समूहका १७ प्रदेशससभा सदस्यको साथ पाएपछि मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

नेकपा एमालेका १७ जना प्रदेशससभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेसंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ । कुल ५२ सदस्यीय प्रदेशसभामा भट्टको पक्षमा ३० प्रदेशसभा सदस्यले मत दिएका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका हुन् ।

नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए ।

नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो ।

एमाले ओली पक्षका सांसदहरु पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।

पार्टी एकताका लागि २०७५ जेठ ३ गतेभन्दा अगाडिको अवस्थामा जान आफू तयार रहेको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिखित वक्तव्य जारी गरी प्रतिबद्धता जनाए पनि एमालेको माधव नेपाल समूहले पार्टी निर्णयलाई अहिले पनि अस्वीकार गर्दैआएको छ ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदनमा हस्ताक्षर गर्ने एमालेका सांसदहरुले निवेदन फिर्ता नलिने निर्णय गरेसंगै आज मंगलबार सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासकोमत दिएर नेपाल समूहले एकताको प्रयासमा ठेस पुर्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button