क्वारेन्टिन लान लागेको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, दर्जनौं वेपत्ता
भारतमा कार्यरत नेपालीहरू घर फर्किने क्रममा कर्णाली प्रदेशमा आएकाहरुलाई क्वारेन्टिनतर्फ लिएर जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी वेपत्ता भएका छन् ।
समाचार अनुसार कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् ।
मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो । टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ ।
टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको छ । टिपर पुरै डुबेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ ।