यौनकर्मी खोज्ने व्यक्तिमाथि कारबाही गर्न सरकारी विज्ञ प्यानलको सुझाव
टोकियो- जापानको न्याय मन्त्रालयअन्तर्गतको विज्ञ प्यानलले यौन सेवा लिन यौनकर्मी खोज्ने व्यक्तिमाथि कारबाहीको व्यवस्था गर्न सुझाव दिएको छ।
जापानले दशकौँपछि पहिलोपटक वेश्यावृत्ति नियन्त्रणसम्बन्धी कानुनमा ठूलो संशोधन गर्ने तयारी गरिरहेका बेला प्यानलले बिहीबार आफ्नो प्रतिवेदन अन्तिम रूप दिएको हो।
हाल प्रचलित कानुनमा यौन सेवाका लागि रकम तिर्न प्रस्ताव गर्ने वा त्यस्तो सेवा खरिद गर्न खोज्ने व्यक्तिलाई दण्डित गर्ने स्पष्ट व्यवस्था छैन। त्यसैले यौन सेवाका लागि रकम तिर्न प्रस्ताव गर्ने व्यक्तिमाथि कुनै न कुनै प्रकारको नियमन लागू गर्नुपर्ने प्यानलको सिफारिस छ।
प्यानलको निष्कर्षका आधारमा न्याय मन्त्रालयले अब विद्यमान कानुन संशोधन गर्ने वा नगर्ने तथा संशोधन गरिए त्यसको दायरा कस्तो हुने भन्नेबारे निर्णय गर्नेछ। सञ्चारमाध्यमका अनुसार कानुन संशोधनसम्बन्धी विधेयक यसै शरद् ऋतुमा संसद्मा पेस हुन सक्ने सम्भावना छ।
जापानमा यौन सेवा बेच्ने पक्षका गतिविधिमाथि कानुनी नियन्त्रण रहे पनि सेवा खरिद गर्न खोज्ने पक्षमाथि त्यस्तो कारबाहीको व्यवस्था नहुँदा कानुनी असन्तुलन रहेको भन्दै पछिल्ला वर्षमा आलोचना हुँदै आएको छ। विशेषगरी टोकियोको काबुकिचो मनोरञ्जन क्षेत्रमा सडकमा हुने वेश्यावृत्तिको विषयले यस बहसलाई थप तीव्र बनाएको छ।
न्याय मन्त्रालयको विज्ञ प्यानलले यसै वर्ष मार्चदेखि वेश्यावृत्ति नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाको पुनरावलोकनका लागि छलफल गर्दै आएको थियो। प्यानलले यौनकर्मीलाई उनीहरूको परिस्थितिअनुसार आवश्यक संरक्षण र सहयोग उपलब्ध गराउने विषयलाई पनि महत्त्व दिएको छ।
समाचार र तस्वीर स्रोत- द जापान टाइम्स





प्रतिक्रिया राख्नुहोस्