जापानस्थित नेपाली दूतावासबारे संसदमा प्रश्न ‘नियोग कि बिचौलियाको अड्डा ?’ (भिडियो)
जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासबाट प्रवाह हुने सेवामा विचौलियाको चलखेल रहेको र नेपाली सेवाग्राहीले सास्ती र अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको भन्दै प्रतिनिधिसभामा आवाज उठेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बसुमाया तामाङले जापानमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले दूतावासबाटै विभिन्न सेवा लिने क्रममा समस्या भोग्नुपरेको विषय उठाउनुभएको हो ।
उहाँले डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा अनलाइनबाटै गर्न सकिने नाता प्रमाणित, भिसा, बायोमेट्रिक लगायतका सेवाका लागि सेवाग्राहीलाई अनावश्यक दुःख दिने र विचौलियालाई पैसा बुझाउनुपर्ने अवस्था रहेको आरोप लगाउनुभयो ।
सांसद तामाङले सोझासाझा नेपाली सेवाग्राहीबाट विचौलियाले रकम माग्ने र अतिरिक्त रकम लिएर छिटो काम गरिदिने गरेको गुनासो सुनिएको उल्लेख गर्दै ‘यो नियोग हो कि बिचौलियाको अड्डा हो ? भन्दै प्रश्न गर्नुभयो ।
यसै गरी उहाँले जापानका लागि नियुक्त हुने नेपाली राजदूत कुनै दलविशेषको प्रतिनिधिका रूपमा नभई नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने कूटनीतिक प्रतिनिधि हुनुपर्ने मागसमेत गर्नुभएको छ ।
जापानमा नेपालीको उपस्थिति विस्तार हुँदै जाँदा त्यहाँ नेपाली समुदायको सामाजिक संरचना पनि क्रमशः फराकिलो बन्दै गएको छ । रोजगारी र अध्ययनका लागि जापान पुग्ने नेपालीसँगै व्यवसाय तथा अन्य पेसामा आबद्ध नेपालीको संख्या पनि बढिरहेको छ ।
नेपाली समुदायको हकहित, सांस्कृतिक पहिचान र सामाजिक सहकार्यका लागि विभिन्न जातीय, क्षेत्रीय तथा पेशागत संघसंस्था स्थापना भएका छन् । त्यस्ता संस्थाले नेपाली समुदायलाई आपत्कालीन सहयोग, सामाजिक कार्यक्रम, सांस्कृतिक गतिविधि तथा विभिन्न सेवामा सहजीकरण गर्दै आएका छन् ।
जापानमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० पनि सक्रिय रहेको छ । नेपाली समुदायका समस्या उठाउने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा नेपाल र जापानबीच सामाजिक एवं आर्थिक सम्बन्ध विस्तारमा भूमिका खेल्ने काममा संघ आबद्ध हुँदै आएको छ ।
समुदायको आकार र आवश्यकता बढ्दै जाँदा नेपाली समुदायलाई प्रभावकारी रूपमा समेट्ने र उनीहरूका समस्या समाधानमा सहजीकरण गर्ने संरचनाको आवश्यकता पनि बढेको छ ।
यता जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासको भौतिक संरचना तथा जनशक्ति नेपाली सेवाग्राहीको बढ्दो चापअनुसार पर्याप्त नभएको गुनासो पनि बेलाबेलामा उठ्ने गरेको छ ।
नेपालीको संख्या र उनीहरूले लिनुपर्ने कूटनीतिक तथा प्रशासनिक सेवाको दायरा बढ्दै गए पनि दूतावासको भवन, कर्मचारी संख्या र सेवा प्रवाहको क्षमता सोहीअनुसार विस्तार हुन नसकेको गुनासो नेपाली समुदायबाट आउने गरेको छ ।
विशेष गरी राहदानी, नाता प्रमाणित, कागजात प्रमाणीकरण, भिसासम्बन्धी सहजीकरण तथा अन्य कन्सुलर सेवाका लागि सेवाग्राहीको चाप बढ्दा समयमै सेवा लिन कठिनाइ हुने गरेको नेपाली समुदायका प्रतिनिधिहरूको गुनासो छ ।
दूतावासको सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन सके सेवाग्राहीले भोग्दै आएको समस्या कम गर्न सकिने उनीहरूको अपेक्षा छ ।
जापानमा नेपाली समुदायको संख्या र गतिविधि बढ्दै जाँदा दूतावासको भूमिका पनि कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही नेपाली नागरिकको संरक्षण, श्रमिक तथा विद्यार्थीका समस्या समाधान, आपत्कालीन अवस्थामा सहयोग र समुदायसँग प्रभावकारी समन्वय गर्ने दिशामा थप बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।





प्रतिक्रिया राख्नुहोस्