अरबौं डलरको लगानी खोज्दै ओपनएआई, आईपीओको ढोका खुल्यो
विश्वकै अग्रणी एआई कम्पनीमध्ये एक ओपनएआईले सम्भावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।
कम्पनीले सोमबार अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) समक्ष ‘फर्म एस–१’ अन्तर्गत गोप्य रूपमा मस्यौदा दर्ता विवरण पेश गरेको जनाएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म सार्वजनिक सेयर निष्कासनको निश्चित समय तय गरिएको छैन। तथापि, उक्त दर्ता प्रक्रियाले आवश्यक परेमा भविष्यमा छिट्टै सार्वजनिक कम्पनीका रूपमा सूचीकृत हुने विकल्प खुला राखेको छ।
ओपनएआईले सन् १९३३ को अमेरिकी धितोपत्र ऐनअन्तर्गतको नियम १३५ बमोजिम यो जानकारी सार्वजनिक गरिएको स्पष्ट पारेको छ।
कम्पनीले यो घोषणा कुनै पनि धितोपत्र बिक्री गर्ने प्रस्ताव वा खरिदका लागि आग्रह नभएको उल्लेख गरेको छ। भविष्यमा सेयर निष्कासन गरिएमा त्यसका लागि एसईसीमा औपचारिक दर्ता विवरण पेश गरिने कम्पनीको भनाइ छ।
विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विकास भइरहेका बेला अग्रणी एआई कम्पनीहरूमा उच्च क्षमतायुक्त कम्प्युटिङ पूर्वाधार निर्माण, डेटा केन्द्र विस्तार तथा नयाँ प्रविधि विकासका लागि ठूलो लगानी आवश्यक परिरहेको छ। ओपनएआईको यो कदम पनि बढ्दो पूँजी आवश्यकतालाई सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ।
हाल ओपनएआई विश्वकै अग्रणी एआई कम्पनीमध्ये एक मानिन्छ। कम्पनीले विकास गरेको ‘च्याटजीपीटी’ लगायतका एआई प्रविधिहरू विश्वभर व्यापक रूपमा प्रयोग भइरहेका छन्।




प्रतिक्रिया राख्नुहोस्