राजनीति

भत्ता नपाएको विरोधमा वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा

वीर अस्पतालमा कार्यरत आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूले लामो समयदेखि निर्वाह भत्ता नपाएको भन्दै कालोपट्टी लगाएर प्रतिकात्मक आन्दोलन सुरु गरेका छन्।

उनीहरूले हालसम्म वैशाख महिनाको भत्तासमेत नपाएको बताउँदै ७२ घण्टाभित्र माग सम्बोधन नभए आकस्मिक सेवासमेत बन्द गरेर पूर्ण हड्तालमा उत्रिने चेतावनी दिएका छन्।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्‍यान) का अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत कार्यरत रेजिडेन्ट डाक्टरहरूले प्रत्येक महिनाको ७ गतेभित्र पाउनुपर्ने निर्वाह भत्ता दुई महिना बितिसक्दा पनि प्राप्त गरेका छैनन्।

र्‍यानका अध्यक्ष डा. प्रकाश खरेलले भत्ता भुक्तानीको विषयमा अस्पताल प्रशासन र चिकित्सा शिक्षा आयोगसँग पटक–पटक छलफल भए पनि कुनै स्पष्ट निर्णय वा ठोस समाधान ननिस्किएको बताए।

‘हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं। तर अहिलेसम्म समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल भएको छैन,’ उनले भने।

खरेलले माग सम्बोधनमा ढिलाइ भए आन्दोलन थप कडा बनाइने चेतावनी दिए। ‘यदि ७२ घण्टाभित्र माग सम्बोधन गरिएन भने सम्पूर्ण रेजिडेन्ट डाक्टरहरू आकस्मिक सेवासमेत बन्द गरेर पूर्ण हड्तालमा जान बाध्य हुनेछौं,’ उनले भने।

उनले सम्भावित हड्तालका कारण बिरामी सेवामा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी अस्पताल प्रशासन, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकायले लिनुपर्ने बताए।

आवासीय चिकित्सकहरूको चेतावनीपछि वीर अस्पतालको सेवा प्रवाह प्रभावित हुन सक्ने देखिएको छ। माग सम्बोधनका लागि सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्नेमा बिरामी तथा स्वास्थ्य क्षेत्रको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.