गोड्से बन्न आव्हान गर्ने वैद्यको अभिव्यक्ति अराजक- कांग्रेस, फौजदारी अभियोग आकर्षित हुने एमालेको चेतावनी
प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको भन्दै अराजक अभिव्यक्ति दिने नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई सो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न पार्टीले निर्देशन दिएको छ ।

शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिनुभएको हो । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले जानकारी दिनुभएको छ ।
शर्माले जारी गरेको विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उल्लेख छ ।
विज्ञप्तिमा ‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।’
यसैबीच नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाउनुभएको छ ।
ज्ञवालीले विज्ञप्तिमा भन्नुभएको छ ‘निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको आवश्यक परे देशको लागि आफैँ नाथुराम गोड्से बन्न पनि तयार रहेको अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्