राजनीति

संविधानमा नयाँ नक्सा सूचीकृत गर्ने संशोधन विधेयक पारित हुँदै

भारतले अतिक्रमण गरेको नेपाली भूमि संविधानकृत गर्न शनिबार संविधान संशोधन विधेयक पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

संघीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ ।

शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो । यसैबीच जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता केशव झाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.