पार्टी कार्यालयमा बसेर नक्कली पीडित खडा गरेको मलाई थाहा छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले केही पार्टीका कार्यालयहरुमा बसेर आफूबिरुद्ध नक्कली पीडित खडा गरेर, जाहेरीहरु लेखेर विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेको प्रमाण आफूसंग रहेको दावी गर्नुभएको छ ।
त्यस्तो कीर्ते काम गर्नेउपर कारबाही गर्ने धम्की दिंदै गृहमन्त्री लेखकले भन्नुभयो, “यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ ।”
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन् पार्टी (राप्रपा)का सांसदहरुको नारावाजी र घेराबन्दीकाबीच संसदमा बोल्नुभएका लेखकले सो दावी गर्नुभएको हो ।
त्यस क्रममा उहाँले भिजिट भिसामा विदेश जानेको संख्या आफ्नो कार्यकालमाभन्दा अरु गृहमन्त्रीहरुको कार्यकालमा बढी रहेको तथ्यांक प्रस्तुत गर्दै आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ ।
आफू लोकतन्त्रको पक्षधर रहेको र आफ्ना अग्रज नेताहरुले लडेर ल्याएको गणतन्त्रबिरुद्ध बोल्न नपाइने र आफूहरुको लाकतान्त्रिक प्रतिबद्धतामाथि औंला उठाउन पनि नपाइने समेत बताउनुभयो ।
उहाँले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।”
भिजिट भिसासम्बन्धी प्रणाली विगत लामो समयदेखि लागू हुँदै आएको जानकारी दिँदै उहाँले आफ्नो कार्यकालभन्दा अघिल्ला मन्त्रीका पालामा बढी व्यक्ति भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले राजनीतिक चरित्रहत्या र राजनीतिक प्रतिशोध पूरा गर्नका लागि उठाइएका विषय हुन्, यस्ता निकृष्ट खाले प्रवृत्ति अन्त्य गर्नुस् म यो चाहन्छु ।”
संवैधानिक निकायले छानबिन गरिराखेको अवस्थालाई सरकारसँग जोड्ने हो भने विगतमा कति मन्त्रीहरूले राजीनामा र जवाफ दिनुभएको थियो भनी प्रश्न गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
लोकतन्त्र र विधिको शासनलाई सुदृढ तुल्याउन आफू निरन्तर लागिरहेको जनाउँदै गृहमन्त्री लेखकले आयोगको छानबिन र कारबाहीलाई कसैले पनि प्रभावित हुन दिन नहुने बताउनुभयो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगले बोलाएको विषय सञ्चारमाध्यमबाटै थाहा पाएको उहाँले स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले अध्यागमन विषयमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचना गत सुधारका एक महिनाभित्रै काम थालनी गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “संसद् सञ्चालनका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीचमा भएको सहमतिलाई स्वागत र हृदयगम गर्दै अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।”




प्रतिक्रिया राख्नुहोस्