राजनीति

मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणका क्रममा प्रष्टसँग आउने बताउनुभयो ।

स्थानीय तहले निकै कष्टकर ढङ्गबाट सङ्क्रमितको व्यवस्थापन गरिरहेको अहिलेको अवस्थामा परिस्थितिजन्य घटनालाई बेवास्ता गर्दै केहीलाई दैनिक हिसाबकिताब चाहिएको उहाँको टिप्पणी थियो । “कोरोनामा खर्च भएको रकम मात्र होइन, आगामी आवको रु १४ खर्बको बजेटको खर्च पनि पारदर्शी हुन्छ”, उहाँले भन्नुभयो, “मबाहेक अरू सबै भ्रष्ट छन् र यो देशमा भ्रष्टबाहेक कोही जन्मदैनन् र छैनन् भन्ने तथा सरकारमा रहेका व्यक्तिको चरित्र हत्या गर्ने मान्यता राख्नुभएन ।”

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिइने प्रतिबद्धता दोहोर्‍याउँदै यदि कहीँकतै अनियमितता भएको भए सम्बन्धित निकायले जाँचबुझ गर्ने बताउनुभयो । आपत्कालमा छोटो प्रक्रियाबाट सामग्री खरिद गरिने जानकारी दिँदै उहाँले कोरोनाले आक्रान्त पारेका बेला कसैले भ्रष्टाचार गरेको भए कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ ।”

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले आम जनतालाई त्रसित बनाएको उल्लेख गर्दै जनतालाई सङ्क्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको जानकारी दिनुभयो । “यसले मानसिक सन्त्रास मात्र दिएको छैन, रोजगारी तथा आम्दानीमा पनि असर गरेको छ । जनता प्रत्यक्षरुपमा पीडामा छन् । यो पीडा सरकारले देखेको छ, बुझेको छ”, उहाँले भन्नुभयो, “मैले गाउँ, शहर देखेको छु । आर्थिक तथा शारीरिक हिसाबले अत्यन्त प्रतिकूल अवस्था झेलेर आएको छु । जनता, गाउँका गरिब तथा गिटी कुट्नेको समस्या पनि प्रधानमन्त्रीले बुझेको छ ।”

असहाय तथा गरिबका लागि सरकार छ भन्ने अनभूति गराउन आफूहरु क्रियाशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले पछिल्लो समयमा सरकारले कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने मान्यता स्थापित गरेको बताउनुभयो । पहिलेभन्दा जनस्तरबाटै परिवर्तनको आभास हुने गरी काम गरिरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले जनताको हितका पक्षमा कुनै खेलबाड नगर्ने भन्दै विरोधका नाममा विरोध गरेर आफैँलाई कमजोर रुपमा प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

रुकुम पश्चिम घटनाका सम्बन्धमा सरकारलाई अनावश्वयक रुपमा नजोड्न आग्रह गर्दै उहाँले घटनाको अनुसन्धान भइरहेको र संलग्नलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । क्वारेन्टिनमा रहेकी महिला बलात्कृत हुनु अन्त्यन्त दुःखद् भएको उहाँको भनाइ थियो । “मानव जातिका निम्ति यो कलङ्कको घटना हो, यसको जति निन्दा गरे पनि कम हुन्छ”, उहाँले भन्नुभयो, “यो निन्दनीय घटना हो, यस आपराधिक घटनामा संलग्नलाई कारबाही हुन्छ ।”

उहाँले शान्ति, सुव्यवस्था कायम गर्न र जनताको जीउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बितेका दुई वर्षमा सरकारले असाधारण काम गरेको दोहो¥याउँदै उहाँले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न कटिबद्ध रहेको बताउनुभयो । पछिल्ला समय राष्ट्रियताका सन्दर्भमा नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले नेपालमाथि अन्याय गर्न र नेपालीलाई विभाजन गर्न सम्भव नभएको पनि पुष्टि भएको बताउनुभयो ।

प्रतिरोधी क्षमताका कारण मृत्युदरमा कमी

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको उपचारका लागि नेपालले प्रयोग गरेको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर अत्यन्त कम देखिएको बताउनुभयो । दैनिक भान्छामा पाइने वस्तुको प्रयोगबाट रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिने दृष्टान्त पेश गर्दै उहाँले प्रतिरोधी क्षमता बढाउने घरेलु उपाय बताउँदा केही बुज्रुकले हामीलाई उडाएका छन् भन्नुभयो ।

“प्रतिरोधी क्षमता कसरी बढ्छ भन्दा हामीलाई उडाइरहनू किन ?”, उहाँले भन्नुभयो, “ठीक ढङ्गले भनिएका कुरालाई नकारात्मक रुपले लिने र त्यसलाई उडाउने प्रवृत्तिले घर गरेको छ ।”

कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क पेश गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशत मृत्यु रहेको छ, यो संसारको धेरै देशभन्दा न्यून हो ।” बुधबारसम्म कोरोनाबाट नेपालमा २० जनाको ज्यान गएको छ । निधन भएकामध्ये कोरोनाकै कारणले निधन हुनेको सङ्ख्या अन्त्यन्त न्यून भएको जानकारी दिँदै उहाँले अरू विभिन्न कारणले मृत्यु भएको अवस्थामा पनि कोरोना पोजेटिभ देखिए, त्यसलाई कोरोनाले मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण सङ्ख्या केही धेरै देखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतबाट आउने क्रम बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमित थपिँदै गएको बताउँदै बुधबारसम्म कूल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको जानकारी दिनुभयो । पाँच हजार ९९० सङ्क्रमितको उपचार भइरहेको र एक हजार १६७ जना सङ्क्रमणलाई जितेर घर फर्केको पनि उहाँले बताउनुभयो । नेपालमा प्रतिदश लाखमा सङ्क्रमित सङ्ख्या २४७ मा सीमित रहेको तथ्याङ्क दिँदै उहाँले आरडिटी र पिसिआर गरी तीन लाख ८३ हजार ३१५ जनालाई परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा प्रतिदश लाखमा १३ हजार १६६ जनाको परीक्षण गरिएको जानकारी दिँदै उहाँले परीक्षणको दायरा दक्षिण एशियामा भुटानपछि नेपाल अग्रस्थानमा रहेको छ भन्नुभयो ।

‘बाढीको सामाना गर्नुपर्‍यो’

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भए पनि समुदायमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले क्षमता र तयारीभन्दा विदेशबाट आउनेको सङ्ख्या ठूलो हुँदा क्वारेन्टिनको व्यवस्थापन र परीक्षणमा अलमल देखिएको बताउनुभयो । “हामीले देशभित्र वा बाहिरको फाट्टफुट्ट आगमनको सामना गर्नुपर्ने अवस्था रहेन, बाढीको जस्तो सामना गर्नुपर्‍यो”, प्रधानमन्त्रीले भन्नुभयो, “अरू देशमा बाहिरबाट आउने र समुदायमा फैलाउने समस्या देखियो भने हाम्रोमा बाहिरबाट आउने सङ्ख्या ठूलो भयो, तर समुदायमा त्यति धेरै सङ्क्रमण फैलन पाएन ।”

गत चैतदेखि जेठसम्म मुलुकभित्र झण्डै पौने तीन लाख नागरिक भित्रिएको जानकारी दिँदै उहाँले भारतबाट एकैचोटि ठूलो सङ्ख्या भित्रँदा व्यवस्थापनमा समस्या भएको बताउनुभयो । “भारतबाट गत चैतमा १२ हजार ६५७, वैशाखमा ११ हजार ७४९ र जेठमा दुई लाख ४१ हजार ८६२ जना नेपाल भित्रिएका छन्”, उहाँले भन्नुभयो, “असारमा सो सङ्ख्या केही घटेको छ । असार १ गते एक हजार ४१०, २ गते चार हजार ८० र ३ गते दुई हजार १२ जनाको आवागमन भएको छ । बुधबारसम्म सात हजार ५०२ जना भारतबाट आएका छन् ।”

प्रधानमन्त्री ओलीले विदेशबाट आउनेको सङ्ख्या बढेसँगै सरकारले कोभिड–१९ परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिँदै परीक्षणलाई अनुकूल स्थितिमा क्षमता अभिवृद्धि गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.