स्वास्थ्य

कोरोना संक्रमणको केन्द्रबिन्दु बाँकेमा फेरिएको दृश्य

अवस्था सामान्य, अस्पतालहरुमा ८० प्रतिशत शय्या खाली, जम्मा ७४ जनाको उपचार हुँदै

एक महिना अघिसम्म बाँकेमा कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतामा शय्याको अभाव हुँदा भुइँमा राखेर उपचार गर्नुपर्यो, चिकित्सकको अभावमाा कर्णालीबाट सहायता माग्नुपर्यो । तर अहिले बाँकेको स्थिति फेरिएको छ, जिल्लाभरि अहिले जम्मा ७४ जना मात्र बिरामी छन् ।

कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button