स्वास्थ्य

कोरोना संक्रमित घरका बालबालिकामा नयाँ समस्या ‘मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम’

कोरोना भाइरसबिरुद्धको खोप लगाउन नमिल्ने उमेर समूह अर्थात् बालबालिकाहरुमा नयाँ र गम्भीर स्वास्थ्य समस्या देखा पर्न थालेको छ । कोरोनाको अर्को भेरियन्टको संक्रमणले बालबालिकालाई अत्यधिक असर गर्ने विज्ञहरुले बताइरहँदा नेपाली बालबालिकाहरुमा पनि ‘मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम’ (एमआईएस–सी) देखापरेको छ ।

यो भनेको बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो । यसको समयमै उपचार गरे निको हुन्छ भने थोरै मात्र लापरवाही भए ज्यानै जानसक्छ । राजधानीको कान्ति बाल अस्पतालमा यस्ता लक्षण भएका बालबालिकाहरु उपचारका लागि भर्ना हुन थालेका छन् ।

कोरोनाको पहिलो लहरमा पनि केही बालबालिकामा यो रोग देखिएको थियो । दोस्रो लहरमा केहीमा देखिएको छ । एमआईएस–सीको समस्या भएका बालबालिकामा शरीरको विभिन्न अंगमा समस्या देखिने भएकाले कोरोना संक्रमण भइसकेका अभिभावक बढी चनाखो हुनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

नेपालमा यसबाट बिरामी भएकाहरुमा कोरोना संक्रमण थियो कि थिएन भन्ने अझै अनुसन्धानकै क्रममा छ । चिकित्सकहरुका अनुसार लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, वान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखा परे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउनु पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार कान्तिबाल अस्पतालमा उपचारका लागि आएका बालबालिकामा एमआईएस–सीका समस्या देखिएको जनाउँदै यो रोगबाट बालबालिकालाई जोगाउनका लागि अभिभावकलाई सचेतना अपनाउन मन्त्रालयले आग्रह गरिसकेको बताउनुभयो ।

के हो एमआईएस–सी

मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम (एमआईएस–सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला जस्ता अंग सुनिने समस्या हो । यो सामान्यतया कोरोना संक्रमित भएको दुईदेखि ४ हप्तापछि देखा पर्ने हुन्छ । निकै कम मानिसमा देखिने यो रोग खतरानाक पनि हुन सक्छ ।

त्रिवि शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. अरुण शर्मा कोरोना संक्रमण नभएका बालबालिकामा पनि यो संक्रमण हुनसक्ने तर एमआईसी–सीको समस्या देखा परेका बालबालिकामा कोरोनाको जस्तो लक्षण देखा पर्छ नै भन्ने नरहेको बताउनुहुन्छ ।

यो रोगले बालबालिकाको शरीरभर रहेका रक्तनलीहरु सुन्निन थाल्छन् । जसमा शरीरको धेरै प्रणालीमा समावेश हुन्छ । केही ब्याक्टेरियाको संक्रमणले रक्तप्रवाहमा विषाक्त पदार्थहरु छोड्छन्, जुन हाम्रो शरीरका अंगहरुमा फैलिन्छ । यसले गम्भीर क्षति र रोग निम्त्याउन सक्छ । रक्तनली सुन्निएसँगै यसले रक्तप्रवाह सीमित गर्न सक्छ, जसको असर मुटु, मिर्गौला र अन्य अंगमा पर्छ ।

कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म लगातार ज्वरो आएमा र माथि उल्लेखितमध्ये कुनै दुई वटा लक्षण देखा परेमा तत्काल अस्पताल लैजान स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई सुझाव दिएको छ ।

यो लक्षण हालैमात्र पत्ता लगेकाले विस्तृत अध्ययनको जरुरी रहेको तर कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.