जन सरोकार

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।

विसं २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिक दुई महिना सेवा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो ।

गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख सन्तोष विकले जानकारी दिनुभयो ।

“जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रुपमा सेवा प्रवाह गरिरहेका छौ”, कार्यालय प्रमुख विकले भन्नुभयो, “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छौँ ।”

विसं २०७४ पछिका स्रेस्ता ‘डिजिटलाइज्ट’ भएकाले स्रेस्ता कायममा समस्या नभए पनि त्योभन्दा अगाडिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का यकीन नहुँदा स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायत प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको उहाँको भनाइ छ ।

“मालपोत कार्यालयमा सेवा लिन जाँदा ढिला सुस्ती हुन्छ भन्ने जनमानसमा भ्रम रहेको छ, वास्तविकता त्यस्तो होइन सेवा लिँदा ध्यान नपुगेर हो”, उहाँले भन्नुभयो, “दैनिक काम गर्ने लेखापढी व्यवसायीलाई सेवाको प्रक्रिया थाहा हुन्छ, तर सेवाग्राही प्रक्रिया थाहा नपाएर अलमलमा पर्ने गरेका कारण ढिलाइ हुने गरेको हो ।”

सेवाग्राहीलाई आवश्यक सहयोगका लागि सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको कार्य सुरु गरिएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक रुपमा बोझ हुनेहुँदा नागरिक सहायता कक्षमार्फत सेवा लिनसमेत उहाँले सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

उहाँले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुनेगरी सेवा प्रवाह गर्न आफूहरु लागिपरेको दाबी गर्नुभयो । भवनमा आगजनी भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युत्रोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.