राजनीति

रास्वपालाई गगनको सन्देश- “नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने गल्ती नगर्नुस”

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच दुश्मनी नभई स्वस्थ राजनीतिक प्रतिस्पर्धा रहेको बताउनुभएको छ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी भए पनि दुश्मन नरहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौँ। तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ, र एक दिन बन्छौँ पनि।”

सभापति थापाले रास्वपालाई कमजोर बनाएर वा उसको राजनीतिक उचाइ घटाएर कांग्रेस अघि बढ्न नचाहेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, “तर हामी तपाईंहरूलाई सानो बनाएर होइन, तपाईंहरूको खुट्टा काटेर होइन, मन, वचन र कर्मले इमानदारीपूर्वक काम गरेर अग्लो हुन चाहन्छौँ। हामी सफा हुन चाहन्छौँ, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नै पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ।”

महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उहाँले रास्वपाका कार्यकर्ता तथा प्रतिनिधिलाई आफ्ना नेताप्रति अन्धभक्त नबन्न र नेतृत्वलाई निरन्तर प्रश्न गर्ने साहस राख्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “सुशासन तपाईंहरूको मुख्य मन्त्र हो । हामीले विगतमा हाम्रा नेतालाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसकेका छौँ। पछि सुधारको प्रयास त गर्‍यौँ, तर निकै ढिला भइसकेको थियो। त्यसैले तपाईंहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुपर्छ।”

सभापति थापाले चितवनभर रास्वपाका निलो झण्डा फहरिएको र हजारौँ प्रतिनिधि देशको भविष्यबारे छलफलका लागि एकै ठाउँमा भेला भएको दृश्य सुखद् रहेको उल्लेख गर्दै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

नयाँ राजनीतिक शक्तिहरूले विगतका उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने धारणा राख्दै उहाँले इतिहासको जगलाई भुल्न नहुनेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “निलो झण्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनिदिनुहोला। तपाईंहरू आज जहाँ बस्नुभएको छ, त्यो भूमिमा प्रजातन्त्रका लागि लड्ने सहिदहरूको बलिदान जोडिएको छ। पञ्चायतविरुद्ध भएको कठोर सङ्घर्षलाई कसैले बिर्सन मिल्दैन। चितवनको माटोमा लतपतिएको सहिदहरूको रगतलाई पनि स्मरण गर्नुपर्छ।”

प्रजातन्त्र र विधिको शासनलाई मूल मन्त्र बनाएर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु नै आजको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो।

मुलुकका मुख्य चुनौती गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गर्दै उहाँले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली कांग्रेसले सशक्त रूपमा प्रश्न उठाइरहने स्पष्ट पार्नुभयो।

सभापति थापाले सबै राजनीतिक दलले आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति सुदृढ हुने र संविधानको रक्षा सम्भव हुने बताउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.