प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको पुष्टि गर्ने पर्याप्त प्रमाण नेपालसँग रहेको बताउनुभएको छ। आफ्नो राष्ट्रवादमाथि कुनै शंका नगर्न आग्रह गर्दै उहाँले सीमा सम्बन्धी विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो।
केही दिनअघि संसद्मा सीमाका विषयमा व्यक्त गर्नुभएको धारणाको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिलाई लिएर अनावश्यक चिन्ता नगर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “हामीसँग प्रमाण छ, हामी ती प्रमाण सार्वजनिक गर्छौं। यस विषयमा कसैले पनि आशंका गर्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कसैले शंका गर्नु आवश्यक छैन।”
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि सरकारले बेलायतको मध्यस्थता खोजेको भन्ने आरोपको समेत खण्डन गर्नुभयो।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “ब्रिटिश शासनकालका अभिलेख वा प्रमाण आवश्यक परे प्रस्तुत गर्छौं भनेका हौं। बेलायतलाई मध्यस्थकर्ताको भूमिका दिन खोजिएको होइन।”
यसैबीच, प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सरकारको कामलाई ‘एक्सप्रेस वे’ मा गुडिरहेको गाडीसँग तुलना गर्नुभयो। उहाँले सरकार निर्धारित गन्तव्यमा पुगेपछि मात्रै ‘ब्रेक’ लाग्ने बताउनुभयो।
चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका क्रममा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले “सरकार भनेको गाडीजस्तै हो, जसमा एक्सिलेटरका साथै ब्रेक पनि आवश्यक हुन्छ” भन्ने टिप्पणी गर्नुभएको थियो।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार ‘लोकल रोड’ मा नभई ‘एक्सप्रेस वे’ मा गुडिरहेको प्रतिक्रिया दिनुभएको हो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “सरकार भनेको गाडी जस्तै हो। गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ भन्ने चिन्ता व्यक्त गरिएको छ। तर त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा हुन्छ। हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडिरहेको छ। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।”
प्रधानमन्त्री शाहले महाधिवेशन प्रतिनिधिलाई निर्देशित गर्दै महाधिवेशन अवधिभर दलको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुन र त्यसपछि पाँच वर्ष देशको बृहत्तर हित र विकासका लागि सोच्न आग्रह गर्नुभयो ।
रास्वपाको एकल सरकार रहेकाले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चुनिए पनि वा नचुनिए पनि हरेक रास्वपाकर्मी आफैँमा प्रधानमन्त्री र मन्त्री सरह जिम्मेवार रहेको उहाँको भनाइ छ ।
यसै गरी पार्टीको कार्यशैली र विचारबारे बाहिर चलेका चर्चाको सन्दर्भमा बोल्दै उहाँले बाहिरी हाउभाउ हेर्दा रास्वपा अनियन्त्रित देखिए पनि पूर्ण रूपमा नियन्त्रित र जनउत्तरदायी रहेको दाबी गर्नुभयो ।
रास्वपा पूर्ण रूपमा ‘विकासवादी पार्टी’ भएको प्रष्ट पार्दै उहाँले आगामी निर्वाचनमा आफूहरू केवल सुशासन र विकासको एजेन्डा मात्र लिएर जनतामाझ जाने बताउनुभयो ।
उहाँले रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले रास्वपा विकासवादी पार्टी भएको बताउनुभयो । “रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन”, उहाँले भन्नुभयो ।
भ्रष्टाचार नियन्त्रणका सवालमा बोल्दै उहाँले सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने बताउँदै अख्तियारसंग पाँच घण्टा मात्र होइन पाँचै वर्ष सोधखोज गरिरहने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।”




प्रतिक्रिया राख्नुहोस्