स्वास्थ्य

नेपालमा भेटिएको ‘डेल्टा प्लस’ कति खतरनाक

भारतमा नयाँ कोरोना भाइरसको भेरियन्ट संक्रमण फैलनासाथ नेपालमा यसको गम्भीर प्रभाव पर्ने र स्थिति थेग्नै नसक्ने हुने चेतावनी विज्ञहरुले दिइरहे तर सरकारले सुनेन । अहिले त्यही भेरियन्टको विकसित रुप नेपालमा पनि देखापरेको छ ।

मुलुकमा विस्तारै निषेधाज्ञाहरु खुकुलो गर्दै जनजीवन सहज बनाउने भनिएको छ तर भाइरसको विकसित रुप देखा परिसकेकाले उच्च शतर्कता आवश्यक छ । स्वास्थ्य सुरक्षा मापदण्ड कडाईकासाथ पालना गरिएन भने लगत्तै अर्को महामारीको लहर सुुरु हुने विज्ञहरुको चेतावनी छ ।

नेपालमा पछिल्लो समय डेल्टा प्लससहित हालसम्म ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी भेरिएन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भाइरसको रूप परिवर्तन प्राकृतिक प्रक्रिया हो तर हामीले भाइरसको स्वरूपमा देखिएका परिवर्तनहरूका बारेमा डब्लूएचओको सहयोग र समन्वयमा नियमित रूपमा निगरानी गरिरहेका छौं । कुनै पनि नयाँ भेरिएन्टसँग जुध्ने एउटा महत्त्वपूर्ण उपाय स्वास्थ्य सावधानी अपनाउनु हो ।

डा. अधिकारीका अनुसार भाइरस फैलिने मूल कारण संक्रमणको चेन हो । यसैले हामी मूल कारणलाई बुझ्ने र संक्रमणको चेन तोड्न सफल भए नियन्त्रण गर्न सक्षम हुन्छौं, चाहे त्यो कुनै पनि भेरिएन्ट होस् ।

नेपालमा भेटिएको पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ ।

यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ । यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको छ । डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस भेरिएन्ट बनेको हो । यो भेरिएन्टको भाइरस पहिलोभन्दा खतरनाक छ वा छैन भन्नेबारे अध्ययन सुरु भएको छ ।

नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी ९आईजीआईबी० का वैज्ञानिक विनोद स्कारियाले जुन १३ मा ट्वीट गर्दै कोभिड भाइरसको स्पाइक प्रोटिनमा म्युटेसनले गर्दा डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएका थिए । उनका अनुसार यो भेरिएन्टले मोनोक्लोनल एन्टिबडीको प्रतिरोध गर्न सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button