पहिरोले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द
बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले बगाएपछि खानेपानी आपूर्ति बन्द भएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ ।
पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।
पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बगाउँदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।
पाइप मर्मतका लागि कर्मचारी आइतबारदेखि खटिए पनि अविरल वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको शर्माले बताउनुभयो । “अवरुद्ध भएको खानेपानी मर्मतका लागि प्राविधिक खटिए पनि वर्षाका कारण तीव्रगतिमा काम भएको छैन” ।
शर्माले भन्नुभयो, “छुट्टाछुटै स्थानमा गएको पहिरोले पाइप बगाउँदा मर्मतमा धेरै समय लाग्ने भएको हो ।” निरन्तर वर्षा भइरहे पनि मर्मतकार्य जारी राखिएको र बजार क्षेत्रभित्र सहजरूपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उहाँको भनाइ छ ।
पहिरोले रेशको जिरेतीमा सडकसमेत बगाउँदा मर्मत गर्ने स्थानमा पुग्नसमेत कठिनाइ उत्पन्न भएको छ । पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको हाहाकार नै भएको छ । बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भुदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३।५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्