जन सरोकार

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ ।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले निर्धारण गरेका १२ उद्देश्यको दोस्रो बुँदामा ‘राष्ट्र र राष्ट्रियताको निर्माणमा सहयोगी लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, नैतिकवान तथा सांस्कृतिक सभ्यताबोध भएका, चरित्रवान, नेतृत्वदायी एवं जिम्मेवार नागरिक तयार गर्ने’ समावेश गरिएको छ ।

साथै ‘रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सीप भएका साक्षर र नैतिक सचेतना निपूण र नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा विशिष्टताहरूको संरक्षण, सम्बद्र्धन र विकासतर्फ अभिमुखीकृत भएको नेपालको इतिहास, संस्कृति, सभ्यता एवं मानव र जीवनोपयोगी मौलिक ज्ञान भएका नागरिक तयार गर्ने’ पनि प्रारुपको उद्देश्य रहेको छ ।

हाल पुनरावलोकनका लागि सुझाव माग गरिएको उक्त प्रारूपमा विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी समतामूलक प्रणालीबारे परिवर्तन हुने स्थिति नभएको अवस्थामा यस प्रणालीबारे विद्यार्थीलाई औपचारिक शिक्षाका साथै अतिरिक्त क्रियाकलापबाट पोख्त बनाउनु सबै तहका सरकार र विद्यालयको दायित्व हो ।

यही दायित्वलाई मनन् गर्दै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरेको ‘किस्पाङ प्रतिभाको खोजी–२०८३’ र खासगरी वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीले सङ्घीय शासन प्रणाली र स्थानीय सरकारको महत्वबारे आफ्ना गहन बुझाइ प्रस्तुत गरेका छन् ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, बहुदलीय प्रतिस्पर्धा र विकासका चाहनालाई पूरा गर्न स्थानीय सरकारसँग भएका अवसर र चुनौतीबारे विद्यालय तहमा यो एउटा बहसको क्षण पनि बन्यो ।

‘सङ्घीयतामा स्थानीय सरकार’ विषय रहेको प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको सङ्घीय शासन व्यवस्थाभित्र संविधानले व्यवस्था गरेअनुसार नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न र स्थानीय आवश्यकताअनुसार विकास योजना निर्माण गर्न तथा जनसहभागिता बढाउन स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेलेको विषयमा धारा प्रवाह धारणा दिएका छन् ।

प्रतियोगिताका क्रममा विद्यार्थीले स्थानीय सरकारलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा स्थानीय सरकारले गर्दै आएको कामबारे आफ्ना सशक्त विचार प्रस्तुत गरेर जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई समेत प्रफुल्लित तुल्याएका छन् ।

प्राप्त स्रोत सामग्री र शिक्षकले गराइदिएको तयारीका आधारमा विद्यार्थीहरूको प्रस्तुति कुनै सक्षम विषय शिक्षकको भन्दा कम थिएन । प्रस्तुति कलाका हिसाबले त त्योभन्दा बढी थियो, जसले ती प्रतिस्पर्धी विद्यार्थीहरू भोलिका दिनमा बहुमुखी प्रतिभावान् हुनसक्ने र नेतृत्व क्षमतामा गणनायोग्य हुनसक्ने आकलन गर्न सकिन्छ ।

सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याएको सन्दर्भदेखि निर्णय प्रक्रियामा नागरिकको पहुँच बढाएको तथा स्थानीय समस्याको स्थानीयस्तरमै समाधान खोज्न सहज बनाएको बारे उदारणसहित ती प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्ना बलियो बुझाइ अभिव्यक्त गरेका थिए ।

उनीहरूले सङ्घीयता र स्थानीय सरकारको एकोहोरा प्रशंसामात्र गरेनन्, स्थानीय सरकारको प्रभावकारी सञ्चालन, पारदर्शिता, जवाफदेहिता र थप नागरिक सहभागिताको आवश्यकता परिपूर्तिका लागि अझ मिहिनेत गर्न पनि सुझाएका छन् ।

सङ्घीयता सफल बनाउन नागरिक सचेतना, सुशासन र विकासप्रति सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको तार्किक धारणा पनि प्रतियोगितामा आएको थियो ।

किस्पाङ गाउँपालिकाभित्र रहेका विद्यार्थीहरूमा निहीत सिर्जनशीलता, प्रतिभा, नेतृत्व क्षमता र अभिव्यक्ति कलाको पहिचान तथा विकास गर्ने उद्देश्यले पहिलोपटक नुवाकोटको ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम, २०८३’ सञ्चालन गरिएको हो ।

विद्यालय तहका विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने र उनीहरूमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न मञ्चीय अवसर प्रदान गरी प्रतियोगी भावना विकास गराई प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

बालबालिकाहरूको बौद्धिक, सिर्जनात्मक र कलात्मक क्षमतालाई उजागर गर्दा नियमित अध्ययनमा समेत सकारात्मक योगदान मिल्ने अपेक्षासहित गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालयको सभाकक्षमा आयोजना गरिएको प्रतियोगितामा गाउँपालिकाका अधिकांश सामुदायिक र संस्थागतका साथै एकमात्र बहुप्राविधिक विद्यालयका छानिएका विद्यार्थी प्रतिभाहरूको सक्रिय सहभागिता रहेको थियो ।

‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’को पहिलो दिन यही असार ३ गते लोकनृत्य प्रतियोगिता तथा दोस्रो दिन वकृत्वकला र चित्रकला प्रगियोगिता आयोजना गरिएको थियो ।

‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वकृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैला प्रथम, ऐसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ प्रथम हुनुभयो ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडा नेतृत्वको निर्णायक समिति रहेको वकृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी छनोट गरेको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार पुरस्कार प्रदान गरियो ।

राष्ट्रिय कलाकारहरू वैकुण्ठ महत, याम गुरुङ, दिपेश माझी र चन्द्रा सारु मगरलगायतका अप्रतियोगी नृत्य, गीत र सङ्गीत प्रस्तुतिबाट शिक्षक–विद्यार्थीमा थप मनोरञ्जन र बौद्धिक खुराक प्रदान गरिएको थियो ।

वकृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएका किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैलाले आफू अतिरिक्त क्रियाकलापमा पहिलादेखि लागे पनि यसस्तरको प्रतियोगितामा यसरी पुरस्कृत हुन पाउँदा खुसी मिलेको बताउनुभयो ।

उहाँले नियमित अध्ययनका साथै वकृत्वकला छोटो समयको आफ्नो अभ्यास र शिक्षकहरूको उत्प्रेरणाका कारण आत्मविश्वासका सबैका सामुन्ने विषयवस्तुमा प्रस्तुति दिन सकिएको प्रतिक्रिया दिनुभयो ।

वकृत्वकला प्रतियोगिताको निर्णायक समितिका संयोजक प्रा डा खतिवडाले प्रतियोगितामा सहभागी विद्यार्थीको सङ्ख्या तथा विधाहरू थप विस्तार गरी बढीभन्दा बढी प्रतिभालाई अवसर प्रदान गर्दै आगामी दिनमा वातावरण, संस्कृति, इतिहास, सम्पदा, पर्यटन, ग्रामीण विकास आदिबारे हाजिरीजवाफ, निबन्ध, कथा, कविता लेखन कार्यशाला तथा प्रतियोगिताजस्ता कार्यक्रम गर्न सकिने आग्रह गर्नुभयो ।

कार्यक्रम आयोजना गर्दा खुला र ठूलो स्थानमा स्थानीयवासीसमेतको उपस्थितिमा भव्यतापूर्वक उत्सवका गरिए विद्यार्थी प्रतिभाहरू थप उत्साहित हुने उहाँको भनाइ छ ।

डा खतिवडाले यस्ता कार्यक्रमले पाठ्यक्रम र पाठ्यपुस्तकले तोकेको लक्ष्यहरूलाई पूर्ति गर्नसमेत प्रत्यक्ष मद्दत मिल्ने उल्लेख गर्दै प्रतियोगीहरूलाई विद्यालयस्तरमै पूर्वतयारी तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न शिक्षकहरूले थप समय दिई घोकन्ते शैलीभन्दा स्वतःस्फूर्त प्रस्फुटनको वातारण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकास्तरमा उत्कृष्ट प्रतिभाहरूलाई जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन गाउँपालिका, सम्बन्धित विद्यालय र व्यवस्थापन पक्षले थप ध्यान दिनुपर्ने बताउनुभयो ।

किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने प्रारम्भिक बाल विकासदेखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा दिने र हरेक विधामा प्रतिभाहरूको पहिचान, प्रोत्साहन र राष्ट्रियकरणका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यार्थीको प्रतिभाको उजगार र प्रोत्साहन हुने यस प्रकारको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि नियमित रूपमा सञ्चालन गरिनुपर्छ भन्ने सुझावलाई मनन् गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामार्फत विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुनुका साथै कला, साहित्य र बौद्धिक गतिविधिप्रति रुचि बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले सामाजिक चेतनाको विस्तारका साथै विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजगार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण टेवा दिएको बताउँदै विद्यालय शिक्षाका लगानीको प्रतिफल खोज्नु चुनौतीपूर्ण भएका बेला विद्यालयमा लुकेर रहेका प्रतिभाहको खोजीको थालनी एक महत्त्वपूर्ण आयाम बन्ने जनाउनुभयो ।

“शिक्षा केबल पाठ्यपुस्तक पढ्ने विषयमात्र होइन । समाजभित्रका हरेक विषय पढ्ने सवाल हो । यो सामाजिक जागरण पनि हो । सीमित स्रोतबाट सुरुआत गरिएको यस कार्यक्रमलाई अझ विस्तारित गर्नु हामी तत्पर छौँ”, खतिवडाले विद्यार्थीहरूलाई लक्ष्य गर्दै भन्नुभयो, “तपाईँहरू पचास वर्षपछिको समाज निर्माणको महत्वपूर्ण हिस्सा हो । आजका विद्यार्थी कति निष्ठावान्, कति इमानदार र समाज विकासका लागि प्रतिबद्ध छन् भन्ने कुरा तपाईँहरूले आफूभित्र रहेको कलाको सशक्त प्रस्तुतिबाट देखाउनुभएको छ । यो विशिष्ट प्रतिभा प्रदर्शनको कुरा हो । गाउँपालिका यसप्रति खुसी व्यक्त गर्दछ ।”

सोही गाउँपालिककाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ अन्तर्गत आयोजित लोकनृत्य, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु किस्पाड गाउँपालिकाको एक गौरवपूर्ण अवसर भएको जनाउँदै कार्यक्रमले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा, सिर्जनशीलता, अभिव्यक्ति क्षमता तथा आत्मविश्वास उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाहमा योगदान दिएको बताउनुभयो ।

वर्तमान सूचना र प्रविधि तथा प्रतिस्पर्धी समाजको समयमा विद्यार्थीहरूको सिकाइ केवल पाठ्यपुस्तकमा सीमित नराखी उनीहरूमा रहेका अनेक प्रतिभालाई प्रोत्साहन गर्नु आवश्यक रहेको सन्दर्भमा यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना विचार, भावना तथा सिर्जनशील क्षमताहरू प्रदर्शन गर्ने उपयुक्त अवसर प्रदान गरेको सहभागी शिक्षकहरूले जनाएका थिए ।

कार्यक्रमले किस्पाङ गाउँपालिकाभित्र रहेका प्रतिभाशाली विद्यार्थीहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा स्थानीयस्तरमा रहेका प्रतिभाहरूको विकास तथा सर्वाङ्गीण शैक्षिक उन्नयनमा थप टेवा पुगेको उनीहरूको भनाइ थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.