राजनीति

राजनीतिक ध्रुवीकरणको असर स्थानीय तहमा

मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधि आन्दोलनमा उत्रे

केन्द्रीय राजनीतिमा देखिएको राजनीतिक ध्रुवीकरणको असर स्थानीय तहहरुमा नराम्रोसंग परेको छ । स्थानीय तहहरुले वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्य धमाधम भैरहेका बेला सत्तापक्षमा रहेका र विपक्षमा रहेकाहरुबीच द्वन्द्व सुरु भएको छ ।

यसै क्रममा महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाविरुद्ध पाँच राजनीतिक दलका प्रतिनिधिले आन्दोलनमा उत्रेका छन् । नेकपा माओवादी केन्द्रका उमाशङ्करप्रसाद साह, नेपाली काँग्रेसका जवाहर साह कसेरा, नेकपा एमालेका सञ्जयकुमार सहनी, जनता समाजवादी पार्टीका रामनन्दन यादव र जनमत पार्टीका नरेश नायक आन्दोलनमा उत्रेका हुन् ।

नगरपालिकामा भइरहेको अख्तियार दुरूपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा उनीहरूले नगरपालिका कार्यालय अगाडि रिले अनशन शुरु गरको जनाएका छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डलले विभिन्न योजनामा करोडौंको हिनामिना गरिरहेको आन्दोलनकारी राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन् । नगरपालिकामा भइरहेको अख्तियार दुरूपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको छानवीन गरी दोषीलाई तत्काल कारवाही हुनुपर्ने माग उनीहरूको छ ।

नगरप्रमुख मण्डलले आवश्यक प्रक्रिया पूरा नगरी १८ जना स्वास्थ्यकर्मीलाई करार सेवामा नियुक्त गरिएको, आफूसँग ५÷७ जना केटाहरूलाई लठैतको रूपमा घुमाएर नगरपालिकाबाट तलब खुवाउने गरेको, तथा विभिन्न योजनामा मनोमानी ढङ्गले करोडौं रूपैयाँ भ्रष्टाचार गरेको उनीहरूले आरोप लगाएका छन् ।

उता नगरप्रमुख मण्डल पक्षधरहरुले भने प्रदेश नं. २ कै नमूना नगरपालिका बन्ने क्रममा रहेको रहेको महिटानीको विकास निर्माणका कार्यलाई धमिलो पार्दै भाँडभैलो मच्चाउन लागिपरेको आरोप लगाएका छन् ।

चार वर्षसम्म जनतालाई मुखसम्म नदेखाउनेहरु अहिले गलत कामका कारण नभएर दलीय दृष्टिकोण अनुसार बिरोध भैरहेको भन्दै गल्ती, कमजोरी छ भने वार्ता र संवादबाट समस्या हल गर्नुपर्नेमा नगरभित्र द्वन्द्व सिर्जना गर्नु गलत भएको स्थानीयको पनि आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button