जन सरोकार

भत्काएको सडक नबनाएपछि वडाध्यक्षको नेतृत्वमा सडक विभागमा तालाबन्दी

जनताले रकम संकलन गरेर बनाएको सडक सरकारी निकायले भत्काएको आठ वर्ष बितिसक्दा पनि नबनाइको भन्दै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ का बासिन्दा आन्दोलित भएका छन् । आइतबार उनीहरुले सडक विभागको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

लामो समयदेखि सरकारी कार्यालयले तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा वेवास्ता गरेको भन्दै वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा सडक विभागको कार्यालयमा तालाबन्दी गरिएको थियो । ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएको विषयमा विरोध जनाएसगैँ वडाध्यक्ष भट्टराईसहित केही व्यक्तिलाई प्रक्राउ गरिएको थियो ।

प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई केही समय नियन्त्रणमा लिएर छाडिएको जानकारी दिनुभयो । वडाध्यक्षसहित १५ जनालाई प्रहरीले प्रक्राउ गरी तिनकुने प्रहरी कार्यालयमा लगेको थियो । विसं २०७२ मा टेन्डर भएको बाटो हालसम्म मर्मत नभएपछि आन्दोलन गर्न बाध्य भएको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

“हामी वडावासीको मुख्य माग भत्काएको बाटो मर्मत हुनुपर्छ भन्ने हो, जनताले रकम सङ्कलन गरेर बनाएको बाटो भत्काएर राखिएको छ, आठ वर्ष हुँदासम्म बाटो मर्मत नभएपछि बाध्य भएर विभागमा तालाबन्दी गरेका हौँ”, उहाँले भन्नुभयो ।

विसं २०६१ मा स्थानीयवासीले रकम सङ्कलन गरेर कालोपत्र गरेको उक्त सडक बाटो फराकिलो बनाइने, ढल राख्ने भन्दै भत्काइएको थियो । सम्बन्धित निकायले आश्वासन दिए पनि आठ वर्षसम्म मर्मत नभएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.