एमालेको महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण, सबै कारबाही फुकुवा
नेकपा (एमाले)को आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको छ । केन्द्रीय कमिटी कायम रहँदा यसअघि गरिएको नेताहरुको कारबाही स्वतः फुकुवा हुने भएको छ ।
एमालेले माओवादी केन्द्रसँगको एकतापुर्वको केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको बुधबार सम्पन्न स्थायी कमिटीले आयोजक कमिटीलाई रुपान्तरण गर्ने प्रस्ताव अघि सारेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र)सँगको एकतापूर्वको संरचनामा सञ्चालन गर्न तप्पर भएको घोषणा गर्नुभएको थियो ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसद्ले हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राख्नुभएको थियो ।
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न आज आयोजक कमिटीको बैठक भएको हो ।
यसै गरी बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरेको छ ।
बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित हुनुभएको थियो ।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्