जापान

डलरतर्फ येनको तीव्र अवमूल्यनः २०० येनसम्म पुग्ने जोखिमबारे बजारमा चिन्ता

जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा इतिहासमै झनझन् कमजोर बन्दै गएपछि विदेशी मुद्रा बजारमा नयाँ चिन्ता उत्पन्न हुनुका साथै वित्तीय अवस्थाप्रति चिन्ता उत्पन्न गरेको विश्लेषण हुन थालेको छ ।

अन्तर्राष्ट्रिय लगानीकर्ता तथा मुद्रा व्यापारीहरूले चरम अवस्थाको आकलन गर्दै डलरको विनिमय दर १ अमेरिकी डलर बराबर २०० येन सम्म पुग्न सक्ने सम्भावनालाई पनि अब पूर्ण रूपमा अस्वीकार गर्न छाडेका छन्।

यद्यपि यो आधारभूत अनुमान नभई ‘सबैभन्दा खराब सम्भावित अवस्था’का रूपमा हेरिएको छ। तर पछिल्ला महिनामा येनको लगातार अवमूल्यन, जापानको वित्तीय अवस्थाप्रतिको बढ्दो चिन्ता र ब्याजदर नीतिमा देखिएको अन्तरका कारण यस्तो जोखिमबारे बजारमा खुला छलफल हुन थालेको हो।

विश्लेषकहरूका अनुसार अमेरिकालगायत प्रमुख अर्थतन्त्रहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर उच्च राखेका छन् भने जापानले तुलनात्मक रूपमा निकै नरम मौद्रिक नीति कायम राखेको छ। यसले लगानीकर्तालाई येन बेचेर उच्च प्रतिफल दिने मुद्रामा लगानी गर्न प्रोत्साहित गरिरहेको छ।

यसले वित्तीय अवस्थाप्रतिको चिन्ता बढाएको छ । किनभने जापानको सार्वजनिक ऋण संसारकै उच्चमध्ये एक हो। बढ्दो सरकारी ऋण र राजकोषीय दबाबले पनि येनमाथि नकारात्मक प्रभाव पारिरहेको छ।

मुद्रास्फीति बढे पनि जापानले ब्याजदर वृद्धि गर्ने गति अन्य देशको तुलनामा निकै सुस्त राखेकाले येन दीर्घकालीन रूपमा कमजोर हुने धारणा बलियो बन्दै गएको छ। यसलाई संरचनागत कमजोरीका रुपमा लिइन्छ ।

सन् १९८६ यताकै कमजोर स्तर

पछिल्ला कारोबारमा येन अमेरिकी डलरको तुलनामा सन् १९८६ पछि कै सबैभन्दा कमजोर स्तर मा पुगेको छ। यससँगै पछिल्लो एक वर्षमा येन विश्वका प्रमुख मुद्रामध्ये सबैभन्दा कमजोर प्रदर्शन गर्ने मुद्रामध्ये एक बनेको छ।

येनको अवमूल्यनले आयातित ऊर्जा, खाद्यान्न तथा कच्चा पदार्थको मूल्य बढाएको छ। यसबाट जापानी उपभोक्ताको जीवनयापन खर्चमा थप दबाब परेको छ भने साना तथा मध्यम व्यवसायहरू पनि प्रभावित भएका छन्। अर्कोतर्फ, निर्यातमुखी कम्पनीहरूले भने कमजोर येनबाट केही लाभ उठाइरहेका छन्।

सरकारी चेतावनीले बजारलाई रोक्न सकेन

जापान सरकारले आवश्यक परे विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्ने र येनको अत्यधिक गिरावट रोक्न ूदृढ कदमू चाल्ने चेतावनी पटक–पटक दिँदै आएको छ। तर मुद्रा बजारका अधिकांश विश्लेषकहरूले यस्ता हस्तक्षेपलाई केवल अस्थायी राहत मात्र मानिरहेका छन्।

उनीहरूका अनुसार बजारको मूल समस्या ब्याजदर नीतिमा रहेको अन्तर हो। जबसम्म जापानको केन्द्रीय बैंकले अन्य प्रमुख केन्द्रीय बैंकहरूको तुलनामा आक्रामक रूपमा ब्याजदर बढाउने संकेत दिँदैन, सरकारी हस्तक्षेपले दीर्घकालीन रूपमा येनलाई बलियो बनाउन कठिन हुने धारणा रहेको छ।

जापान टाइम्सका अनुसार अन्तर्राष्ट्रिय मुद्रा व्यापारीहरूले अहिले २०० येन प्रतिडलरको स्तरलाई आधारभूत पूर्वानुमानका रूपमा होइन, सम्भावित वित्तीय संकट उत्पन्न भएमा देखिन सक्ने चरम जोखिमका रूपमा मूल्याङ्कन गरिरहेका छन्।

रिपोर्टमा उल्लेख भएअनुसार जापानको मौद्रिक नीतिमा अपेक्षित परिवर्तन नआए, अमेरिकी ब्याजदर अपेक्षाभन्दा लामो समयसम्म उच्च रहे र जापानको वित्तीय अवस्थाप्रतिको विश्वास थप कमजोर बन्दै गएमा येनमाथिको दबाब अझ बढ्न सक्छ।

यद्यपि अधिकांश अर्थशास्त्रीहरूले निकट अवधिमा २०० येन प्रतिडलर पुग्ने सम्भावना कम रहेको, तर बजारले यस्तो जोखिमलाई अब पूर्ण रूपमा बेवास्ता गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.