नेकपा बैठक असार २२ सम्म स्थगित- निकासको बटमलाइन अझै पत्तो लागेन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पटबाट राजीनामा दिन स्थायी समितिका बहुमत सदस्यले माग गरेपछि चुलिएको सत्तारुढ नेकपाको विवाद समाधानको सूत्र अझै पत्तो लागेको छैन । शुक्रबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीचको ३ घण्टा लामो छलफलमा अध्यक्ष ओलीले दुबै पदबाट राजीनामा नदिने अडान राखेपछि गतिरोध अरु चुलिएको छ ।
पार्टी विभाजनको संघारमा पुगेका बेला निकास दिन नेताहरुले आआफ्नै तर्क र दृष्टिकोण अघि सारिरहेका बेला शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
बिहिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।
बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।
तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।
प्रतिक्रिया राख्नुहोस्