गण्डकीका कांग्रेस प्रदेशसभा सदस्यले बन्दाबन्दीमा यातायात खर्च नलिने

नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् । प्रदेशसभा सदस्यहरुले कानुनी रुपमा सुविधा लिन मिले पनि नैतिक रुपमा लिन नमिल्ने भन्दै सो निर्णय गरेका हुन् ।
बन्दाबन्दी अवधिमा सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउँदाजाँदा भाडाका सवारीसाधन प्रयोग नभएका कारण सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरिएको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताउनुभयो ।
कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई प्रदेशसभाको वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधाबापत रु ७५० को व्यवस्था गरेको छ ।