पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार “चटकका भरमा” बनेको आरोप लगाउँदै यस्तो सरकार दीर्घकालीन रूपमा टिक्न नसक्ने दाबी गर्नुभएको छ।
उहाँले सरकारलाई कसैले नढाले पनि त्यसभित्रकै कारणले ढल्ने अवस्था सिर्जना हुने जिकिर गर्दै “चटकका भरमा आएको, चटककै भरमा जान्छ” भन्नुभयो।
शनिबार आयोजित नेकपा (एमाले)को पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारप्रति कटाक्ष गर्दै भन्नुभयो, “अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ, जान्छ। अझ यो चटकका भरमा आएको सरकार हो, चटककै भरमा जान्छ।”
यद्यपि, सरकार आफैं ढल्ने प्रतीक्षामा बस्नु उचित नहुने उहाँको भनाइ थियो। त्यसरी पर्खेर बस्दा देश, लोकतन्त्र र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने भएकाले परिवर्तन सचेत र सक्रिय प्रयासबाट छिट्टै ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले भन्नुभयो, “यदि हामी पर्खेर बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ। त्यसकारण परिवर्तन पर्खने चिज होइन, सचेत प्रयासबाट छिटो गरिने चिज हो।”
यसै क्रममा अध्यक्ष ओलीले एमाले अहिले चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै पार्टी कठिनाइबाट अझ सशक्त भएर उठ्ने विश्वास व्यक्त गर्नुभयो।
निर्जीव वस्तुलाई कहिल्यै कठिनाइ नपर्ने उल्लेख गर्दै उहाँले संघर्ष जीवनको स्वाभाविक प्रक्रिया भएको बताउँदै अहिले आफूहरू केही समस्यामा परेको भए पनि सधैं यस्तो नहुने जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, “हामी कठिनाइमा छौं। कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो। निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन। हाम्रो पार्टीलाई कठिनाइ आएको छ भने हामी जीवित छौं। हामीले धक्का खाएका छौं, पछारिएका हौंला, तर हामी जीवित छौं। हामी उठ्छौं, प्रतिवाद गर्छौं र आवश्यक परे प्रतिरोध पनि गर्छौं।”
अध्यक्ष ओलीले पछिल्लो समय एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भएको दाबी पनि गर्नुभयो। उहाँका अनुसार पार्टीले विकास र प्रगतिको अभियान अघि बढाउन खोजेकै कारण विभिन्न शक्तिहरू एकजुट भएर एमालेविरुद्ध लागेको अवस्था सिर्जना भएको हो।
उहाँले भन्नुभयो, “यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो। सबैभन्दा ठूलो गठजोडका साथ हमला भयो।” पार्टीले मुलुकको विकास र प्रगतिका लागि काम गर्न खोज्दा नै त्यस्ता आक्रमणको सामना गर्नुपरेको उहाँले बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्