मौलिक कला : राष्ट्रिय पहिचान र समृद्धिको आधार
कला मानव सभ्यतासँगै विकसित हुँदै आएको सांस्कृतिक सम्पदा हो। कुनै पनि राष्ट्र, समाज वा समुदायको पहिचान त्यहाँको कला, भाषा, साहित्य, संगीत, धर्म र संस्कृतिबाट झल्किन्छ।
यद्यपि कला अन्य पक्षभन्दा विशिष्ट छ, किनकि यसले कुनै राष्ट्रको मौलिकता, इतिहास र सभ्यतालाई प्रत्यक्ष रूपमा अभिव्यक्त गर्छ। त्यसैले कला केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको ऐना, राष्ट्रको आत्मा र सभ्यताको परिचायक पनि हो।
चित्रकला, नृत्य, संगीत, नाटक, वास्तुकला, मूर्तिकला लगायतका विविध कला विधाले मानिसका भावना, विचार, संघर्ष, प्रेम, देशभक्ति र सामाजिक यथार्थलाई अभिव्यक्त गर्छन्। चित्रले मौन भाषामा गहिरा सन्देश दिन सक्छ भने गीत–संगीतले मानिसको मन छुन्छ।
नाटकले समाजका विकृति र विसंगतिलाई उजागर गर्छ भने नृत्यले संस्कृतिको सौन्दर्य प्रस्तुत गर्छ। यसरी कला सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावकारी माध्यम बनेको छ।
समाजमा विद्यमान अन्याय, विभेद, हिंसा, भ्रष्टाचार, अन्धविश्वास तथा कुरीतिविरुद्ध जनचेतना फैलाउन कलाको महत्वपूर्ण भूमिका रहेको छ। देशप्रेम, मानवता, शान्ति, समानता र सद्भावका सन्देश पनि कलामार्फत प्रभावकारी रूपमा प्रवाह गर्न सकिन्छ। भाषणभन्दा गीत, नाटक वा चित्रबाट मानिसले धेरै कुरा सहजै आत्मसात् गर्न सक्छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। उपत्यकाको नेवारी संस्कृति, थारु नृत्य, तमाङ सेलो, देउडा, मारुनी, लाखे नाच, पञ्चेबाजा, लोकगीत तथा मिथिला चित्रकलाजस्ता मौलिक कलाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु चिनाएका छन्।
हाम्रा काष्ठकला, प्रस्तरकला, वास्तुकला र मूर्तिकलाले हजारौं वर्षदेखि नेपालको गौरवशाली इतिहास बोकेका छन्। यी सम्पदाहरू हाम्रो राष्ट्रिय पहिचानका आधार हुन्।
तर आधुनिकता र सूचना प्रविधिको तीव्र विस्तारसँगै मौलिक कला र संस्कृतिमाथि चुनौती थपिएको छ। इन्टरनेट, सामाजिक सञ्जाल, स्मार्टफोन र कृत्रिम बुद्धिमत्ताले जीवनलाई सहज बनाएको भए पनि अत्यधिक प्रयोगले नेपाली मौलिकता कमजोर बनाउने खतरा बढेको छ। विशेष गरी युवापुस्तामा विदेशी संस्कृति र जीवनशैलीप्रतिको आकर्षण बढ्दै जाँदा नेपाली भाषा, पोशाक र परम्पराप्रतिको मोह घट्दो छ।
पहिले गाउँघरमा रोदी, दोहोरी, लोकनाच, पञ्चेबाजा, मारुनी, देउडा र झ्याउरेजस्ता सांस्कृतिक गतिविधि सामूहिक रूपमा सञ्चालन हुन्थे। अहिले ती गतिविधि डिजिटल मनोरञ्जनले विस्थापित गरिरहेका छन्।
टिकटक, फेसबुक र युट्युबमा विदेशी संगीत र संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली लोकसंस्कृतिले अपेक्षित स्थान पाउन संघर्ष गर्नुपरेको अवस्था छ।
यद्यपि सूचना प्रविधि पूर्ण रूपमा नकारात्मक भने होइन। यसले नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउने अवसर पनि दिएको छ। कलाकारहरूले आफ्ना सिर्जना विश्वव्यापी रूपमा प्रस्तुत गर्न सकेका छन्। त्यसैले प्रविधिको उपयोगसँगै मौलिक कला र परम्पराको संरक्षणमा पनि समान ध्यान दिन आवश्यक छ।
यस सन्दर्भमा विद्यालय शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विद्यालयमा भाषा, कला र संस्कृतिसम्बन्धी विषयलाई प्राथमिकता दिनुपर्छ। कला शिक्षाले विद्यार्थीको सिर्जनशीलता, कल्पनाशक्ति, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ। चित्रकला, संगीत, नृत्य वा अभिनयले बालबालिकालाई भावनात्मक रूपमा संवेदनशील र मानसिक रूपमा सन्तुलित बनाउन सहयोग पुर्याउँछ।
विद्यालयस्तरमै कला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन, चित्रकला प्रदर्शनी तथा संगीत प्रशिक्षण सञ्चालन गर्न सकिन्छ। यसले विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गर्नुका साथै मौलिक संस्कृतिप्रति आकर्षण बढाउँछ।
तर अहिले धेरै विद्यालयमा विज्ञान, गणित र प्रविधिलाई मात्र प्राथमिकता दिँदा कला शिक्षा ओझेलमा परेको देखिन्छ। नृत्य, संगीत र चित्रकलाजस्ता विषयलाई अतिरिक्त क्रियाकलापमा सीमित गर्ने प्रवृत्तिले दीर्घकालमा हाम्रो मौलिक कला कमजोर हुन सक्छ।
नेपाल भौगोलिक रूपमा सानो भए पनि कला, संस्कृति र सम्पदाको दृष्टिले अत्यन्त धनी राष्ट्र हो। सगरमाथाको देश र बुद्धको जन्मभूमिका रूपमा चिनिने नेपाल विभिन्न जातजाति, भाषा र संस्कृतिको साझा फूलबारी हो। यिनै विशेषताले विश्वभर नेपालको विशिष्ट पहिचान स्थापित गरेका छन्।
मौलिक कला र संस्कृति पर्यटन प्रवर्द्धनका प्रमुख आधार पनि हुन्। विदेशी पर्यटकहरू कुनै देशको संस्कृति, संगीत, नृत्य, कला र परम्परा अवलोकन गर्न आकर्षित हुन्छन्। नेपालका सांस्कृतिक सम्पदा, हस्तकला, लोकसंगीत, जातीय नृत्य तथा होमस्टे संस्कृतिले पर्यटन उद्योगलाई थप सुदृढ बनाउन सक्छन्।
सार्वजनिक स्थानहरूमा चित्रकला, मूर्तिकला र सांस्कृतिक प्रस्तुति प्रवर्द्धन गर्न सके समाजमा सौन्दर्यबोध बढ्नुका साथै नागरिकहरू कला र संस्कृतिप्रति आकर्षित हुन्छन्। यसका लागि राज्य, स्थानीय तह, समुदाय र नागरिक सबैको साझा प्रयास आवश्यक छ।
अन्ततः, कला र संस्कृतिको संरक्षण केवल कलाकारको मात्र होइन, सम्पूर्ण समाजको दायित्व हो। आधुनिक प्रविधिको उपयोग गर्दै मौलिकता जोगाउनु आजको प्रमुख चुनौती र आवश्यकता दुवै हो।
आफ्नो इतिहास, संस्कृति र सम्पदाको संरक्षण गर्दै त्यसलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न सके मात्र हाम्रो राष्ट्रिय पहिचान सुरक्षित रहन्छ। जहाँ कला हुन्छ, त्यहाँ सौन्दर्य, शान्ति र सिर्जनशीलता हुन्छ, र शान्त तथा सिर्जनशील समाजबाटै समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ।



प्रतिक्रिया राख्नुहोस्