खेलफूटबलविश्व समाचार

गर्मीको संकटमा विश्वकप, खेलाडी र दर्शक दुवै जोखिममा

विश्वकपकै बीच अमेरिकामा प्राणघातक गर्मी ! जलवायु परिवर्तन नभएको भए यस्तो अवस्था ‘लगभग असम्भव’

अमेरिकामा जारी विश्वकप फुटबल प्रतियोगिता र जुलाई ४ मा मनाइने स्वतन्त्रता दिवसको तयारीका बीच देखिएको अत्यधिक गर्मी तथा आर्द्रता जलवायु परिवर्तन नभएको भए ‘लगभग असम्भव’ हुने नयाँ अध्ययनले देखाएको छ।

शुक्रबार सार्वजनिक गरिएको अध्ययनमा सहभागी अनुसन्धानकर्ता थियोडोर किपिङले अमेरिकाको वर्तमान जलवायु अवस्था विगतको तुलनामा पूर्ण रूपमा बदलिएको बताउनुभएको छ। उहाँ इम्पेरियल कलेज लन्डनका चरम मौसम तथा डढेलोसम्बन्धी अनुसन्धानकर्ता हुनुहुन्छ।

उहाँका अनुसार, “अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा गरिएको हाम्रो अध्ययनले एउटा स्पष्ट यथार्थ उजागर गरेको छ। आजको अमेरिकाको जलवायु, संस्थापकहरूले स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गरेको समयको जलवायुभन्दा आधारभूत रूपमा फरक भइसकेको छ।”

यो अध्ययन विश्व मौसम कारण विश्लेषण समूह (डब्लुडब्लुए) ले गरेको हो। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका जलवायु वैज्ञानिकहरू आबद्ध यस समूहले अमेरिकाको मध्य तथा पूर्वी क्षेत्र र दक्षिणी क्यानडामा फैलिएको भीषण गर्मीको विश्लेषण गरेको हो।

अनुसन्धानका अनुसार हाल ती क्षेत्रमा शक्तिशाली उष्ण वायुगुम्बज (हिट डोम) अर्थात् उच्च वायुदाबीय प्रणाली सक्रिय छ। यसले न्यानो र आर्द्र हावालाई ढकनीले छोपेजस्तै थुनेर राखेकाले तापक्रम अस्वाभाविक रूपमा बढेको हो।

वैज्ञानिकहरूका अनुसार यस्ता मौसमीय प्रणाली पहिले पनि देखिने गर्थे। तर जलवायु परिवर्तनका कारण अहिले यिनले पहिलेभन्दा धेरै उच्च तापक्रम सिर्जना गरिरहेका छन्।

धेरै स्थानमा दिनको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। उच्च आर्द्रताका कारण मानिसले महसुस गर्ने गर्मी भने वास्तविक तापक्रमभन्दा अझ बढी रहेको अध्ययनले जनाएको छ।

‘आर्द्र तापीय सूचकांक’ रेकर्ड स्तरमा

अनुसन्धानमा गर्मीबाट मानव शरीरमा पर्ने प्रभाव मापन गर्न प्रयोग हुने आर्द्र तापीय सूचकांक (डब्लुबीजीटी) लाई आधार बनाइएको छ। यो सूचकांकले तापक्रमसँगै आर्द्रता, घाम र हावाको प्रभावलाई समेत समेट्ने भएकाले सामान्य तापक्रमभन्दा बढी विश्वसनीय मानिन्छ।

अध्ययन गरिएका अधिकांश क्षेत्रमा यो सूचकांक अहिलेसम्मकै उच्च स्तरमा पुग्ने अनुमान गरिएको छ।

जलवायु नमुनाको प्रयोग गर्दै अनुसन्धानकर्ताहरूले मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.४ डिग्री सेल्सियस बढेको वर्तमान अवस्था र जलवायु परिवर्तन नभएको काल्पनिक अवस्थाबीच तुलना गरेका थिए।

अध्ययनअनुसार, यदि जलवायु परिवर्तन नभएको भए अहिले देखिएको स्तरको आर्द्र तापीय सूचकांक पाँच हजार वर्षमा एक पटक मात्र देखिन सक्ने दुर्लभ घटना हुने थियो। अर्थात्, यस्तो अवस्था लगभग असम्भव हुने निष्कर्ष निकालिएको छ।

हालको जलवायु अवस्थामै पनि यस्तो चरम गर्मी करिब २०० वर्षमा एक पटक मात्र हुने दुर्लभ घटना मानिएको छ। यद्यपि, घटना अत्यन्त असाधारण भएकाले यस अनुमानमा केही अनिश्चितता रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

एल–निनोको प्रभाव न्यून

अनुसन्धानकर्ताहरूले प्राकृतिक मौसमीय उतारचढावको प्रभाव छुट्याउन प्रशान्त महासागरमा विकसित भइरहेको एल–निनो अवस्थाको प्रभाव पनि परीक्षण गरेका थिए।

तर, उत्तरपूर्वी उत्तर अमेरिकामा एल–निनोको प्रभाव अत्यन्त न्यून रहेको र त्यसले उल्टै हल्का चिसोपन ल्याउने देखिएको अध्ययनले जनाएको छ।

विश्वकप खेलमा स्वास्थ्य जोखिमको चेतावनी

अध्ययनअनुसार जुलाई ४ मा फिलाडेल्फियामा हुने फ्रान्स–पाराग्वे विश्वकप खेल सुरु हुँदा आर्द्र तापीय सूचकांक ८२ डिग्री फरेनहाइटभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

यस्तो स्तरको गर्मीमा खेलाडी र दर्शक दुवैका लागि स्वास्थ्य जोखिम उच्च हुने भन्दै खेलाडीहरूको अन्तर्राष्ट्रिय संगठन फिफप्रोले खेल स्थगित गर्न वा ढिलो गरी सुरु गर्नुपर्ने माग गर्दै आएको छ।

संगठनका अनुसार यस्तो वातावरणमा खेल सञ्चालन गर्नु खेलाडी तथा समर्थक दुवैको सुरक्षाका दृष्टिले उपयुक्त हुँदैन। (समाचार स्रोत एएफपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.