सरकारका सय दिन पूर्णतः असफल’- प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यकाल जनअपेक्षा अनुरूप हुन नसकेको टिप्पणी गर्नुभएको छ।
उहाँले सरकार गठनका बेला जनतालाई दिइएका आश्वासन र सिर्जना गरिएका अपेक्षा पूरा हुन नसकेको भन्दै सय दिनको कार्यसम्पादनलाई पूर्णतः असफल रहेको मूल्याङ्कन गर्नुभयो।
शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।
उहाँले भन्नुभयो, “जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा हेर्दा यो १०० दिन पूर्णतः असफल भएको देख्छु।”
सरकारले जनतामा जगाएको अपेक्षा व्यवहारमा रूपान्तरण गर्न नसकेको उहाँको भनाइ थियो। सरकारको कार्यसम्पादनले नागरिकमा उत्साहभन्दा निराशा बढाएको संकेत गर्दै उहाँले जनताले चाहेजस्तो उपलब्धि हासिल हुन नसकेको धारणा राख्नुभयो।
राजनीतिक सहकार्यको सन्दर्भमा प्रचण्डले अहिलेको राष्ट्रिय आवश्यकता केवल वामपन्थी शक्तिहरूबीचको एकतामा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो। देशका प्रमुख राजनीतिक शक्तिहरूबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको उहाँको जोड थियो।
उहाँले भन्नुभयो, “वाम एकता मात्र होइन, कांग्रेस, एमालेलगायत सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक छ। आज देशलाई त्यही आवश्यक परेको छ, र हामी त्यस दिशामा प्रयास गरिरहेका छौँ।”
प्रचण्डले मुलुकले सामना गरिरहेका राजनीतिक तथा आर्थिक चुनौती समाधानका लागि दलहरूबीच संवाद, सहकार्य र साझा राष्ट्रिय प्रतिबद्धता अपरिहार्य रहेको धारणा पनि व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्