राजनीति

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीलाई ध्यानाकर्षण

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो ।

विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रश्न उठ्दै आइरहेकाले तत्काल सडक निर्माण हुने वातावरण सिर्जना गरिदिन लम्सालको ध्यानाकर्षण गराइएको रास्वपा शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्काले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन दुलेगौडा–हर्कपुर मोटरमार्ग विसं २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता भई विसं २०७८ माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटकपटक म्याद थप्दा पनि उल्लेखनीय प्रगति नभएको उल्लेख गरिएको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै रास्वपाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेको छ ।

त्यसैगरी विश्व बैंकको सहयोगमा सञ्चालित दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति आयोजना रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ लागतमा निर्माण भइरहेको उल्लेख गर्दै विसं २०८२ असार २३ गते सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको जनाएको छ ।

रास्वपाले उक्त आयोजनाको निर्माण तत्काल सुरु गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्रीसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.